एक दिनको पारिश्रमिकबाट सूर्य नेपालका श्रमिकले जुटाए सवा दुई लाख

रञ्जन यादव
71 पाठक संख्या

जीतपुर । विपद्मा परेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सूर्य नेपाल प्रालि सिमरा प्रतिष्ठानमा कार्यरत श्रमिकहरूले आफ्नो एक दिनको पारिश्रमिक सहयोग गरेका छन्। श्रमिकहरूको स्वेच्छिक योगदानबाट दुई लाख २७ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको छ।

प्रतिष्ठानमा कार्यरत २२५ जना श्रमिकले आफ्नो एक दिनको आधारभूत तलबबाट रकम कट्टा गर्न सहमति जनाएपछि उक्त रकम जुटाइएको मजदुर नेता बेनी तिमल्सिनाले जानकारी दिए। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको उनले बताए।

रसुवा, नुवाकोट र धादिङमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले श्रमिकहरूले यस्तो पहल गरेका हुन्। विपद्का कारण जनधनको क्षति भइरहेका बेला आफ्नो आम्दानीको केही हिस्सा प्रभावितका लागि छुट्याइएको श्रमिक नेताहरूले बताएका छन्।

नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन (आधिकारिक युनियन) र समग्र उद्योग ट्रेड युनियन नेपालको पहलमा सहयोग रकम संकलन गरिएको हो। भदौ १७ गते सूर्य नेपाल सिमरा प्रतिष्ठानमा आयोजित कार्यक्रममा राहतका लागि संकलित रकमको चेक तथा भौचर जीतपुर–सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको मजदुर नेता प्रेम बस्नेतले बताए।

कार्यक्रममा श्रमिक प्रतिनिधिहरूले प्राकृतिक विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु सबैको सामाजिक दायित्व भएको धारणा राखेका थिए। श्रमबाट प्राप्त आम्दानीको केही अंश पीडित परिवारको राहतका लागि समर्पण गर्नु मानवीय जिम्मेवारी पूरा गर्ने प्रयास भएको उनीहरूको भनाइ थियो।

नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनका अध्यक्ष देवेन्द्र सिटौलाले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग संकलन गरिएको बताए। कठिन परिस्थितिमा रहेका परिवारको पीडामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले श्रमिकहरूबीच स्वेच्छिक रूपमा रकम उठाइएको उनको भनाइ छ।

उद्योगमा कार्यरत श्रमिकहरूले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको युनियनले जनाएको छ। सरकारी राहत कोषमा जम्मा गरिएको रकम प्रभावित क्षेत्रका परिवारसम्म पुग्ने विश्वास व्यक्त गर्दै श्रमिकहरूले विपद्को समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

Leave a review