घरमै पुगेर अपाङ्गता भएका तीन जनालाई ट्राइसाइकल र ह्विलचेयर वितरण

रञ्जन यादव
40 पाठक संख्या

जीतपुर । हिँडडुलमा समस्या भोगिरहेका जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जना अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर आइतबार सहायक सामग्री वितरण गरिएको छ। प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीको सहयोगमा उनीहरूलाई एक थान इलेक्ट्रिक ट्राइसाइकल र दुई थान ह्विलचेयर उपलब्ध गराइएको हो।

जीतपुरसिमरा–१ का ६९ वर्षीय दिलबहादुर बस्नेतका लागि इलेक्ट्रिक ट्राइसाइकल नयाँ गतिशीलताको माध्यम बनेको छ। जन्मजात देब्रे खुट्टा नभएका बस्नेत यसअघि हातले चलाउने ह्विलचेयरको भरमा आवतजावत गर्दै आएका थिए। उमेरसँगै शारीरिक कठिनाइ बढेपछि ह्विलचेयर चलाउनसमेत समस्या हुन थालेपछि उनी दैनिक कामका लागि श्रीमती ठगकुमारीमा निर्भर हुँदै आएका थिए।

अब इलेक्ट्रिक ट्राइसाइकल पाएपछि भने बस्नेतले आफूलाई केही सहज महसुस गरेका छन्। उनले ट्राइसाइकलको प्रयोग गरेर सानो व्यवसाय सञ्चालन गर्ने र त्यसबाट हुने आम्दानीले आफ्नो दैनिकी चलाउने योजना बनाएका छन्।

त्यस्तै, पथलैया निवासी ३६ वर्षीया शान्तिकुमारी प्रसाईंले पनि पहिलोपटक ह्विलचेयर पाएकी छन्। आठ वर्षको उमेरमा बिरामी परेपछि हातखुट्टा चलाउन नसक्ने अवस्थामा पुगेकी प्रसाईंलाई यसअघि आवतजावत गराउन परिवारका सदस्यकै सहयोग आवश्यक पर्ने गरेको थियो। ह्विलचेयर उपलब्ध भएपछि उनलाई बाहिर लैजान तथा दैनिक गतिविधिमा सहयोग गर्न सहज हुने उनका दाइ रामहरि प्रसाईंले बताए।

जीतपुरसिमरा–१९ का २० वर्षीय जमिर अन्सारीले पनि पहिलोपटक ह्विलचेयर प्राप्त गरेका छन्। जन्मजात पूर्ण अपाङ्गता भएका फतेह आलम अन्सारीका कान्छा छोरा जमिरलाई ह्विलचेयर उपलब्ध भएपछि परिवारमा खुसी छाएको छ। उनको आवतजावत सहज बनाउन सहयोग पुग्ने परिवारले जनाएको छ। गुठीबाट उपलब्ध गराइएका सामग्री स्थानीय शिव पौडेल, रमेश थापा, राजदास श्रेष्ठ तथा नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेले सम्बन्धित व्यक्तिको घरमै पुगेर हस्तान्तरण गरेका थिए।

अध्यक्ष वाग्लेले शारीरिक अवस्थाका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका व्यक्तिलाई आवश्यक सहायक सामग्री उपलब्ध गराउने कार्यले उनीहरूको आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताए। आर्थिक रूपमा कमजोर परिवारका अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी हुने यस्ता सहयोगलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

समाजसेवामा सक्रिय प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले यसअघि पनि जीतपुरसिमरा र कलैयाका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको छ। गुठीकी संस्थापक राजी राणाले आफ्नो ८८ औँ जन्मोत्सवको अवसरमा जीतपुरसिमरा र कलैयाका गरी ६ जनालाई ट्राइसाइकल र दुई जनालाई ह्विलचेयर प्रदान गरेकी थिइन्।

पछिल्लो समय गुठीले प्राकृतिक विपद्मा परेका परिवारलाई समेत सहयोग गर्दै आएको छ। रसुवामा बाढीबाट प्रभावित परिवारका लागि गुठीले हालै १ करोड ९ लाख रुपैयाँ नगद तथा २५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियो।

Leave a review