बारामा देउवा इतर समूहको क्षेत्रीय अधिवेशन, तीन क्षेत्रमा नेतृत्व चयन

साझेदारी डेलि
293 पाठक संख्या

बारा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै बारामा शेरबहादुर देउवा इतर समूहले तीन निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्व चयन गरेको छ। जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २, ३ र ४ मा अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा प्रक्रिया जारी रहेको छ।

शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा मुस्ताक अंसारी सर्वसम्मत चयन भएका छन्। उक्त क्षेत्रको प्रदेशसभा क्षेत्र २(क) मा राजेश साह र २(ख) मा हरिलाल राय यादव ९बाबा० सभापति बनेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा कलावती पासवानले क्षेत्रीय सभापतिको जिम्मेवारी पाएकी छन्। त्यहाँ प्रदेशसभा क्षेत्र ३(क) को सभापतिमा सुरेश प्रसाद साह र ३(ख) को सभापतिमा हरि प्रवेश यादव चयन भएका छन्।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा हरेन्द्र प्रसाद यादव चयन भएका छन्। प्रदेशसभा क्षेत्र ४(क) मा लेखनाथ खनाल र ४(ख) मा गोपाल प्रसाद कुशवाहा सभापति बनेका छन्। तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय नेतृत्व सर्वसम्मत चयन भएको जनाइएको छ।

यसैक्रममा कलैया उपमहानगरपालिकाको नगर सभापतिमा दिपेन्द्र कुशवाहा सर्वसम्मत चयन भएका छन्। पार्टी कार्यालयमा सम्पन्न नगर अधिवेशनले उनलाई नगर नेतृत्वको जिम्मेवारी दिएको हो।

निर्वाचन क्षेत्र नम्बर १ को अधिवेशन भने समाचार तयार पार्दासम्म जारी थियो। उक्त क्षेत्रको नेतृत्व चयनको विवरण आउन बाँकी रहेको छ।

Leave a review