जीतपुर । बाराको जितपुरसिमरामा आयोजित प्रथम जितपुरसिमरा म्याराथन प्रतियोगिता–२०८३ मा पुरुषतर्फ राजेन्द्र बम्जन र महिलातर्फ रीना तामाङले उपाधि जितेका छन्। खस आर्य समाज नेपालको आयोजनामा भएको प्रतियोगितामा करिब दुई सय धावकले सहभागिता जनाएका थिए।
सिमरास्थित रामजानकी मन्दिरबाट सुरु भएको दौड पथलैया हुँदै पुनः सोही स्थानमा पुगेर टुंगिएको थियो। प्रतियोगितामा विभिन्न उमेर समूहका धावकले प्रतिस्पर्धा गरेका थिए।
३५ वर्षमाथिको पुरुष समूहमा बम्जनले ३३ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान प्राप्त गरे। चिरञ्जीवी पोखरेलले ३७ मिनेट १३ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुँदा कुमार थापा ३८ मिनेट २६ सेकेन्डका साथ तेस्रो भए।
महिला प्रतिस्पर्धामा रीना तामाङले ५२ मिनेट ४३ सेकेन्डको समय निकाल्दै पहिलो स्थान हासिल गरिन्। जनकी खड्का ५३ मिनेट ५२ सेकेन्डसहित दोस्रो र मीना श्रेष्ठ ५४ मिनेट २३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा रहिन्। ६० वर्षमाथिको समूहमा गंगाप्रसाद मैनालीले ४७ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान प्राप्त गरे।
प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरिएको आयोजकले जनाएको छ। बिहानी ग्रुप र भूतपूर्व सैनिकको सहकार्यमा आयोजित प्रतियोगिताले स्थानीय क्षेत्रमा दौड तथा शारीरिक व्यायामप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले खेलकुदले स्वास्थ्य सुधारसँगै अनुशासन, एकता र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने बताए। स्थानीयस्तरमा यस्ता प्रतियोगिता सञ्चालन हुँदा प्रतिभावान् खेलाडीको पहिचान गर्न र नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्न मद्दत पुग्ने उनको भनाइ थियो। उनले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
खस आर्य समाज नेपालका अध्यक्ष शरद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, विभिन्न वडाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीको उपस्थिति थियो। कार्यक्रममा भूतपूर्व सैनिक संयोजक रामचन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने रविन्द्र खकुरेलले सहजीकरण गरेका थिए।



