माधोपुर बजारको पोखरीस्थित सूर्य मन्दिरमा सूर्य भगवानको प्राणप्रतिष्ठा

Om Prakash Yadav

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुर बजारस्थित पोखरीको बीच भागमा निर्माण गरिएको सूर्य मन्दिरमा बुधबार सूर्य भगवानको प्रतिमाको विधिवत् प्राणप्रतिष्ठा गरिएको छ।

छठ पर्वलाई लक्षित गरी निर्माण गरिएको उक्त मन्दिरमा पुरोहितद्वारा विधिपूर्वक पूजापाठ गरी सूर्य भगवानको प्रतिमाको प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो। छठ पर्वमा सूर्य भगवानको पूजा आराधना गर्न सहज होस् भन्ने उद्देश्यले पोखरीको बीच भागमा आकर्षक सूर्य मन्दिर निर्माण गरी प्रतिमा स्थापना गरिएको छ।

प्राणप्रतिष्ठा कार्यक्रममा माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव, वडा नं. ६ माधोपुरका वडाध्यक्ष रामनरेश राय, समाजसेवी बिरजन राय, मिस्त्री हकिम दासलगायत स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।

मन्दिर निर्माणमा जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटका पूर्व जिल्ला अध्यक्ष एवं पार्टीका मधेस प्रदेश कार्यकारिणी समिति सदस्य श्यामबिहारी यादवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

वर्षौँको प्रयासपछि माधोपुर बजारस्थित पोखरीको सौन्दर्यीकरण गर्दै बीच भागमा आकर्षक डिजाइनको सूर्य मन्दिर निर्माण गरिएको हो।

छठ पर्वमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजा गर्न सहज होस् भन्ने उद्देश्यले पोखरीको चारैतिर पक्की ढलान गरी पण्डाल निर्माणका लागि आवश्यक संरचना तयार गरिएको छ।

साथै, पोखरीको चारैतिर रेलिङ लगाउनुका साथै मन्दिरसम्म पुग्न दुवैतर्फबाट बाटो निर्माण गरिएको छ। पोखरीको चारैतिर टावर लाइट जडान गरिएकाले रातिको समयमा समेत पोखरी क्षेत्र झनै आकर्षक देखिने गरेको छ।

मन्दिर निर्माण तथा पोखरीको सौन्दर्यीकरणले माधोपुर बजारको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बढाउनुका साथै छठ पर्व मनाउन आउने श्रद्धालुहरूलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

Leave a review