धिरेन्द्र पनुहर/
बाराको कोल्हवी नगरपालिकामा आईतवार स्थानीय तथा नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रर्दशन गर्दै तालाबन्दी गरेका छन ।
प्रहरीले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्षहरुलाई नियन्त्रणमा लिएपछि काँग्रेसका कार्यकर्ता तथा स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन ।
नगरपालिकाको मेयर भरत बहादुर भण्डारीले आ.ब. २०७७/७८ को लागि पटके करको ठेक्का कार्यपालिका निर्णय बिना नै आफ्नो मनोमानी ढङले गर्न खोज्दा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्षहरुले अवरोध गर्दै बोलपत्र च्यातेका थिए।
अवरोध गर्दै बोलपत्र च्यातेका कारण ईलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएका प्रहरीले वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र चौधरी, वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ५ का वडाअध्यक्ष बासुप्रसाद चौधरी, वडा नम्बर ७ का अध्यक्ष बिरेन्द्र चौधरी, वडा नम्बर ९ का अध्यक्ष योगेश चौधरी र वडा ११ का अध्यक्ष नन्द किशोर चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले वडाअध्यक्षहरुलाई नियन्त्रणमा लिएको विरोधमा काँग्रेस सर्मथकहरुले आईतवार कोल्हबी बजारमा नारा जुलुश गरि नगरपालिकाको कार्यलयमा पुगि तालाबन्दी गरेका थिए।
बिगत केही दिनदेखी नगरपालिकाको आर्थिक पार्दर्शिता माग गर्दै आएपनि मेयर भण्डारीले आलटाल गर्दै आएको कारण विरोध गरिएको वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र चौधरीले साझेदारीलाई बताए ।
यसैवीच नगरपालिकाको कार्यालयमा लगाईएको ताला सहमति पछि साँझ खोलिएको छ । मेयर भण्डारीले आत्माआलोचना गर्दै आ.ब. ७७/७८ को लागि गरिएको पटके करको ठेक्का तत्काल रद्द गर्ने सहमति पछि ताला खोलिएको वडा नम्बर ८ का वडा अध्यक्ष सार्थक पौडेलले जानकारी गराएका छन ।
मेयर भण्डारीले १७ लाख न्यूनतम रकम राखेर बाटो मर्मत सम्भार शुल्कको ठेक्का लगाउन खोजेपछि वडाअध्यक्षहरुले अवरोध गरेका हुन ।
यसअघि वडाअध्यक्षहरुले ठेकेदारहरुले नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने राजस्व रकम जम्मा गरेर गरिएको हिसाब पारदर्शी गर्न माग गर्दै आएपनि नगरसभा अवरुद्ध गरेपनि नगर प्रमुख भण्डारीले बेवास्ता गरेका वडाध्यक्षहरुले आरोप लगाएका छन ।
मेयर भण्डारीको कारणले गर्दा आर्थिक वर्ष २०७५/२०७६ नदीजन्य पदार्थको ठेक्का लिएको कलैयाको छठीया निर्माण सेवाले एक करोड १७ लाख र अमान्तबाट उठाइएको करिब ४० लाख नगरपालिकाको खातामा दाखिला नगरिएकोले समेत वडाअध्यक्षहरुले विरोध जनाएक थिए ।
यस्तै मेयर भण्डारीकै गैरजिम्मेवारीका कारण आ.ब.२०७६/२०७७ नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदार र अमान्तमा संकलन गरिएको राजस्व समेत नगरपालिकाको खातामा जम्मा नगरेर कर्मचारी र ठेकेदारहरुले ती रकम राखेको उनीहरुको आरोप छ ।