उद्योगीहरुले आर्थिक मन्दी र बिद्युत कटौतीको कारण देखाउँदै मजदुर कटौती गरिरहेको बिरोधमा बाराको सिमरामा बुधवार प्रदर्शन गरेका छन् ।
उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी सङ्कटमा परेको भन्दै जगदम्बा स्टिल,त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरूले प्रदर्शन गरेका हुन् । उद्योग र प्राधिकरणबिचको द्वन्द्वको मारमा मजदुरहरुले आफूहरू परेको गुनासो गरेका छन् ।
आ–आफ्ना कारखानाबाट प्लेकार्ड सहित प्रदर्शनमा निस्किएका उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरी ईलाका प्रशासन कार्यालयको माध्यमबाट नेपाल सरकार मन्त्री परिषदको कार्यालयलाई र जीतपुसिमरा बिद्युत बितरण केन्द्रको माध्यमबबाट नेपाल बिद्युत प्राधिकरण केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बिद्युत प्राधिकरणले एक्कासी लाईन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराईएको बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ । यसबाट ६ हजार भन्दा बढी श्रीमकहरुको रोजगारीमा असर परेको सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईएको छ ।
यो समस्या तत्काल समाधान नभएको खण्डमा आफुहरु सशक्त संघर्षमा जान बाध्य हुने बिज्ञप्तीमा जनाईएको छ । प्रदर्शनमा आधिकारिक ट्रेड युनियन जगदम्बा स्टिल मजदुर युनियन सिमरा,अखिल नेपाल मजदुर संघ आधिकारीक ट्रेड युनियन हुलास स्टिल र अखिल नेपाल औधोगिक मजदुर संघ त्रिबेणी स्पेनिङ्ग मिल्स छातापिपराका मजदुरहरुको सहभागिता रहेको थियो ।
मजदुरहरुले प्रदर्शनमा रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर,बन्द उद्योग खुला गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । बिहान करिब १० बजे सिमरास्थित जगदम्बा स्टिलको मूल गेटदेखि सुरु भएको विरोध कार्यक्रम प्राधिकरणको सिमरा केन्द्रमा पुगेर टुङ्गिएको थियो ।
सो कार्यक्रममा करिडोरका अधिकांश मजदुर सहभागी थिए । यता डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत विद्युत् प्रयोग गर्ने बारा–पर्सा औद्योगिक करिडोरका सिमरा वितरण केन्द्र अन्तर्गत ४ वटा र वीरगञ्ज वितरण केन्द्र अन्तर्गत एउटा गरी ५ वटा उद्योगले ६ अर्बभन्दा धेरै रकम विद्युत् महसुलबापत बुझाउन बाँकी छ ।
सिमरा वितरण केन्द्रको तथ्याङ्क अनुसार करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, अशोक स्टिलको ७८ करोड,हामा आइरनको ११ करोड ५० लाख, हुलासको ४३ करोड र सूर्य नेपालको २ करोड ५० लाख रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी छ ।
साथै वीरगञ्ज वितरण केन्द्र अन्तर्गत रहेको त्रिवेणी स्पेनिङ्ग मिल्सको ८६ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको जनाइएको छ । यी ५ उद्योग मध्ये हालसम्म ३ वटा उद्योगको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण सिमरा केन्द्रका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीले डेडिकेटेड र ट्रंक लाइनको हकमा केन्द्रबाट आएको निर्णय र निर्देशनका आधारमा सिमरा वितरण केन्द्रले काम गरेको बताए ।
‘पहिलो चरणमा ठुला उद्योगको लाइन काट्ने निर्णय भएकाले जगदम्बा र अशोक स्टिलको लाइन काटेका छौँ,बाँकीको हकमा व्यवस्थापनले के निर्णय गर्छ, सोही अनुसार अगाडि बढ्ने हो ।
बारा–पर्सा औद्योगिक करिडोरमा विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्र अन्तर्गत मात्रै ५८६ वटा उद्योग छन्। २०७२ सालमा विद्युत् प्राधिकरणको बोर्डले निर्णय गरेर ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत विद्युत् प्रयोग गर्ने उद्योगहरुलाई निर्वाध विद्युत् उपलब्ध गराई छुट्टै महसुल दर कायम गर्ने निर्णय गरेको थियो । प्राधिकरणको सोही निर्णय बमोजिम सिमरा वितरण केन्द्र अन्तर्गत ५ वटा उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’मार्फत विद्युत् प्रयोग गरेका थिए । जसअन्तर्गत जगदम्बा स्टिल,अशोक स्टिल,हुलास स्टिल,हामा आइरन र सूर्य नेपाल छन् ।
यी ५ वटा उद्योगले २०७२ साल भदौदेखि २०७७ साल असारसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको सिमरा वितरण केन्द्रले जनाएको छ । २०७७ साउनदेखि प्राधिकरणले लोडसेडिङ हटाएपछि डेडिकेटेड र ट्रंक लाइन नै हटाइएको हो ।

