प्रहरीले लागु औषध सहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ वस्ने ४१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।
यादवको साथबाट बा ९४ प ६११४ नम्बरको प्लाटिना मोटरसाइकल सहित आठ लाख १६ हजार बराबरको एक सय दुई ग्राम खैरो हेरोइन बरामद भएको जनाइएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्यूरो वीरगञ्जको संयुक्त टोलीले यादवलाई बारा महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित बरियारपुरबाट पक्राउ गरिएको हो ।
उनलाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइएको हो ।


