कृषि औजारका प्राविधिकले बनाए दस किसिमका कृषि उपकरण

राम मण्डल
284 पाठक संख्या

वीरगञ्ज कृषि औजारका प्राविधिकले १० किसिमका कृषि उपकरणहरु निर्माण गरेका छन ।

सरकारले बन्द गरेको कृषि औजार कारखाना महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रले चलाउने जिम्मा लिएकामा दिनरात खटिरहेका प्राबिधिकहरुले कारखानाबाट कृषि उपकरणहरु तयार गरेका हुन् ।

खेती योग्य कार्यमा प्रयोग गरिने १० प्रकारका कृषि उपकरणहरु तयार गरेर प्रदर्शन कक्षमा राखिएको छ । केन्द्रको जिम्मामा कारखाना आएपछि त्यहाँ खटिरहेका ईन्जिनियर तथा कर्मचारीहरुले अहिले बीउ रोप्ने मेशिन बनाएका हुन् ।

खाल्डो खन्ने मेशिन,गाईबस्तुको लागि खाने चारा काटने चाप कटर मेशिन,गाई बाख्रा भैंसीहरुलाई खुवाउन पेलेट दाना बनाउने,आलु रोप्ने आलु खन्ने मेशिन,धान काटने रिपर मेशिन,मर्जिङ मेशिन,केराको थम्बाबाट फाईबर निकाल्ने लगायतका १० किसिमका मेशिनहरु उत्पादन गरिसकिएको महाबिर पुन आविष्कार केन्द्रका प्रमुख ईन्जिनियर रितेश देवले साझेदारी दैनिकलाई जानकारी दिए ।

उक्त मेशिनहरु अहिले शो रुममा राखिएको तथा बिस्तारै मूल्य तोकेर त्यसलाई बजारमा पनि पठाईने उनले बताए । अहिले बनाइएका कृषि उपकरणहरु किसानहरुले आफै चलाउन सक्ने खालको रहेको छ ।

कोही किसानले चलाउन नजानेका खण्डमा आफुहरुले सिकाउने समेत ईन्जिनियर देवको भनाई छ । मूल्य निर्धारण गर्दा बाहिर तथा तेस्रो मुलकबाट ल्याईने कृषि उपकरणको तुलनामा आफुहरुले उत्पादन गरेको उपकरणको मुल्य कम नै पर्ने बिश्वास उनले ब्यक्त गरे ।वीरगञ्ज कृषि औजार कारखानामा उत्पादन गरिएको कृषि उपकरणहरु स्वदेशी भएकाले बिग्रेको खण्डमा सजिलै बनाउन कारखानामै ल्याउन सकिने छ ।

प्राबिधिक सहयोग समेत सहज रुपमा पाउन सकिने भएकाले किसानहरुले प्राथमिकतामा केन्द्रका प्राबिधिकले उत्पादन गरेको कृषि औजार पहिलो रोजाईमा पर्ने देवले विश्वास व्यक्त गरे । हाल कृषि औजार कारखानामा आविष्कार केन्द्रका तीन जना ईन्जिनियर सहित २० जना कर्मचारीहरु कार्यरत छन् ।

यसअघि कृषि औजार कारखानामा काम गरिरहेका इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने जानकारी दिएको थियो ।

सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिएको थियो । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले ०७९ साल माघदेखि कृषि औजार कारखानामा मेशिनहरु मरम्मत गर्ने तथा नयाँ मेशिनहरु बनाउने काम शुरु गरेको थियो ।

२८ फागुन २०२४ मा रुसको सहायतामा स्थापना भएको वीरगञ्ज कृषि औजार कारखाना तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवले उद्घाटन गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको कृषि औजार काराखानाले सुरुका वर्षमा मुनाफामा नै सञ्चालनमा थियो ।

कृषि क्षेत्रलाई आवश्यक पर्ने आधुनिक औजार साना उपकरणहरु पनि कारखानाले उत्पादन गरेर सस्तो र सहज तरिकाले देश भरिकै कृषकहरुसम्म पुयाउने गरेको थियो । ४ चैत २०५९ मा बसेको मन्त्रिपरिषद् बैठकले कारखाना खारेज गर्ने निर्णय गरे सँगै बन्द भएको कारखानाको भौतिक संरचनाहरु जिर्ण बन्दै गएका छन ।

Leave a review