ओम प्रकाश यादव/
आम नागरिकलाइ स्थानीय तहबाट नै कुनै प्रकारको चिठ्ठीपत्रहरु दर्ता गर्ने देखि लिएर वितरण गर्ने तथा हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिकामा हुलाक कार्यालयको शाखा कार्यालय सञ्चालनमा आएको छ ।
गुजरा नगर कार्यपालिकाको कार्यालय सिम्रा भवानीपुरमा सोमवारदेखी हुलाक कार्यालय सञ्चालनमा आएको हो । गुजराका नगर प्रमुख सन्तलाल चौधरीले सोमवार एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरेका छन् ।
मेयर चौधरीले उद्घाटन गरेसंगै सोवारदेखी नै उक्त कार्यालय सञ्चालनमा आई सेवा प्रदान गर्न शुरु गरेको जिल्ला हुलाक कार्यालय गौर रौतहटका प्रमुख एवं हुलाक अधिकृत देवनाथ यादवले जानकारी दिएका छन् ।
आम नागरिकलाई स्थानीय तहबाट नै हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले गुजरा नगरपालिकामा हुलाक कार्यालय सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय गौरका प्रमुख यादवले बताए । एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने उद्देश्य अन्तर्गत अहिलेसम्म हुलाक कार्यालय नरहेको गुजरामा हुलाक कार्यालय स्थापना गरिएको उनले बताए ।
जिल्ला हुलाक अधिकृत देवनाथ यादवले दिएको जानकारी अनुसार जिल्लामा २ गाउँपालिका र १६ वटा नगरपालिका गरी कुल १८ वटा स्थानीय तह रहेकोमा अहिलेसम्म गुजरा सहित १२ वटा स्थानीय तहमा हुलाक कार्यालयको शाखा कार्यालय स्थापना भइसकेको छ भने अब ६ वटा स्थानीय तहमा मात्र हुलाक कार्यालय स्थापना हुन बाँकी छ ।
अहिलेसम्म माधवनारायण,गढिमाइ,गौर,गरुडा,चन्द्रपुर,कटहरिया,फतुवा विजयपुर,राजपुर,मौलापुर,गुजरा नगरपालिका,यमुनामाइ गाउँपालिका र दुर्गाभगवती गाउँपालिकामा हुलाक कार्यालय स्थापना भइसकेको छ भने राजदेवी,इशनाथ,देवाही गोनाही,बौधीमाई,वृन्दावन र परोहा नगरपालिकामा हुलाक कार्यालय स्थापना हुन अझै बाँकी रहेको छ ।









