मतदानमा सहभागि हुन निर्वाचन आयोगको अनुरोध

साझेदारी दैनिक
296 पाठक संख्या

काठमाण्डौं : निर्वाचन आयोगले मंसिर १६ गते आइतबारका दिन हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा सहभागि हुन मतदातालाई आग्रह गरेको छ।

आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएकी हुन्।

निर्वाचन हुने वडामा बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफुले रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोगले प्रेस विज्ञप्तिमा अनुरोध गरेको हो।

आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

मतदाताको सहजताका लागि मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्नेगरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न,मतदातालाईभयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन,मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने कार्यमा सबै राजनीतिक दल,मतदाता,उम्मेदवार,सञ्चारकर्मी,पर्यवेक्षक लगायत सबै सरोकारवालाको सहयोग हुनेछ भन्ने आयोगले विश्वास समेत प्रेस विज्ञप्तिमा व्यक्त गरेको छ।

मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिई सकिएको व्यहोरा प्रेस विज्ञप्ति मार्फत सबैको लागि जानकारी दिइएको छ।

Leave a review

This will close in 0 seconds