जीतपुर : बाराको सिमरामा राष्ट्रिय स्तरको ‘लोम लिडरसिप एकेडेमी २०२५’आयोजना गर्ने भएको छ ।
यहि फागुन ९ गतेदेखि ११ गतेसम्म (२१ फेब्रुअरीदेखि २३ फेब्रुअरी २०२५) सिमरास्थित होटल ईच्छामा कार्यक्रम सम्पन्न हुने ब्यवसथापक सिमरा जेसिजले पत्रकार सम्मेलन गरी जनाएको छ ।
नेपाली युवाहरूलाई नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धि गराउने उद्देश्यले नेपाल जेसिजको आयोजनामा हुने कार्यक्रमको औपचारिक उदघाटन फागुन १० गते गरिनेछ ।
नेतृत्व विकासमा केन्द्रित यो कार्यक्रममा स्थानीय शाखाहरूका अध्यक्ष,कानुनी सल्लाहकार,महासचिव र कोषाध्यक्ष लाई प्रभावकारी योजना निर्माण तथा कार्यान्वयन सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।
यसका साथै,सहभागीहरूलाई प्रभावकारी सञ्चार,नेतृत्व क्षमता अभिवृद्धि,तथा सामाजिक उत्तरदायित्वसम्बन्धी महत्वपूर्ण विषयमा ज्ञान प्रदान गरिने सिमरा जेसिजका पुर्ब अध्यक्ष लक्की रिमालले जानकारी दिए ।
कार्यक्रममा देशभरका १८१ वटा शाखाहरूका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै,प्रत्येक शाखाहरूका अध्यक्ष,कानुनी सल्लाहकार,महासचिव र कोषाध्यक्ष ७ सय २४ जना,५० जना राष्ट्रिय पदाधिकारीहरु,१० जना ट्रेनर गरी ७ सय ८४ जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
५२ लाख रुपैयाँको अनुमानित बजेट रहेको यस कार्यक्रमले युवाहरूलाई नेतृत्व विकासमा आवश्यक सीप तथा ज्ञान प्रदान गर्दै उनीहरूको व्यावसायिक तथा सामाजिक क्षमताको अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
पहिलोपटक सिमरा जेसिजले ठुलो कार्यक्रमको आयोजनामा सहकार्य गर्ने अवसर पाएको भन्दै सिमरा जेसिजका पुर्व अध्यक्ष शालिकराम अधिकारीले कार्यक्रम सफल पार्न सिमराबासी सबैको साथको जरुरी रहेको बताए ।
‘सिमराको पहिचान र यहाँको अर्थतन्त्रसंग जोडिएको जेसिजको राष्ट्रिय कार्यक्रमको अपनत्व ग्रहण गर्न म सम्पूर्ण सिमराबासीलाई आग्रह गर्छु’ अधिकारीले भने । सिमरा जेसिजका अध्यक्ष द्धारिकाराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएका थियो।

