जनकपुर । आफ्नै श्रीमतीको हत्या गरि घरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-५ बनिनियाँकी २० वर्षीया अंजली देवी यादवको शव शनिबार घरमै खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको हो ।
उनका श्रीमान हरेराम यादवले आफ्नै श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताएका छन् ।
घरभित्रबाट दुर्गन्ध निस्किन थालेपछि स्थानीयले शंका गरी प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको छ।
उनका श्रीमान यादव अहिले फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

