बारामा हनुमान जयन्ति मनाईयो

साझेदारी दैनिक
485 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बारामा शनिबार हनुमान जयन्ति मनाईएको छ। जिल्लाको १६ पालिकामा रहेको हनुमान मन्दिरमा विभिन्न धार्मिक अनुष्ठानको आयोजना गरी हनुमान जयन्ति मनाईएको हो।

हनुमान जयन्तिको अवसरमा जिल्लाको कलैया बजारमा रहेको हनुमान मन्दिर,भवानीपुरमा रहेको हनुमान मन्दिर,महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको हनुमान मन्दिर,सिम्रौनगढमा रहेको हनुमान मन्दिरमा भजन किर्तन लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको हो।

हनुमान जयन्ति हनुमानको सम्झनामा मनाइने दिन हो। पवन पुत्र हनुमानको जन्मदिनको सम्बन्धमा विभिन्न पुराणहरूमा फरक उल्लेख छ। कतिपय ग्रन्थहरूमा चैत्र शुक्ल पूर्णिमाको दिन जन्म भएको भनिन्छ भने वायु पुराण लगायत केहीमा कार्तिक कृष्ण चतुर्दशी उल्लेख गरिएको छ।

मंगलबारका दिन जन्मिएका हनुमानलाई मंगलकारक पनि भनिन्छ।भगवान् शिवजीले संसारका प्राणिहरूको सङ्कट मोचनका लागी हनुमान अवतार लिएको पनि मानिन्छ र त्यसैले सङ्कटमोचक बजरंगबली भनेर पनि उनलाई चिनिन्छ।

उनी जीवनभर रामभक्त भएर समर्पित थिए। केही कथनहरू अनुसार उनले सूर्य पुत्री शुभचलासँग विवाह गरेका थिए। पतिपत्नीबीचको प्रेम प्रगाढ होस् भनेर आज पनि उनीहरूको पूजा गर्ने चलन छ।

हनुमानले रावणद्वारा बन्दी बनाइएका शनिदेवलाई छुटाएको कथा पनि प्रचलित छ। यसपछि शनिले हनुमानको दर्शन गर्ने व्यक्तिलाई शनि दोष नलाग्ने वरदान दिएका थिए। त्यसैले शनिको अशुभ प्रभावबाट बच्न हनुमानको पूजा र हनुमान चालिसा पाठ गर्ने परम्परा कायम छ।

शास्त्रहरू अनुसार हनुमानको नाम लिने,पूजा गर्ने वा चालिसा सुन्ने व्यक्तिलाई भूतप्रेत,नकारात्मक शक्ति र भयले केही गर्न सक्दैन। त्यसैले हनुमान जयन्तिका दिन श्रद्धापूर्वक हनुमानको पूजा–पाठ गरेर आत्मबल,साहस र निष्ठा प्राप्त गर्ने मान्यता छ।

Leave a review

This will close in 0 seconds