खडेरी प्रभावितलाई वीरगञ्जमा राहत सामग्री वितरण

साझेदारी दैनिक
294 पाठक संख्या

वीरगञ्ज : नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एन.जी.ओ. सि.सि.को सहकार्यमा “मेरो पानी मेरो बानी“ अभियान वीरगञ्जमा संचालन गरिएको छ।

युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा, सो अभियान सञ्चालन गरिएको हो। खानेपानी अभावको गम्भीर समस्या भोगिरहेका समुदायहरूलाई लक्षित गरी सो अभियान शुरु गरिएको हो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित धागर टोलमा विशेष कार्यक्रममा ३० जना स्थानीय बासिन्दाहरूलाई सामाग्री वितरण गरिएको हो। उनीहरुलाई एक–एक थान बाल्टिनमा नल (टुटी) जडान गरिएको सेट, एक थान जग, तथा एक थान पानी सफा गर्ने केमिकल हस्तान्तरण गरिएको हो। मधेश प्रदेशका विभिन्न भागहरूमा पानीको अभाव गहिरिँदै गएको छ।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले अति प्रभावित स्थानमा छ सय थान यी सामाग्री वितरण गरिने जनाएका छन्। खडेरी समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु आवश्यक रहेको उनले बताए।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्व तथा सकृयतामा वितरण कार्यक्रम भएको हो। कार्यक्रममा नन्दनी गुप्ता, प्रिया कुशवाहा, तथा एन.जी.ओ. सि.सि.का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवको उक्त अवसरमा उपस्थिति थियो।

स्थानीय समुदायमा पानीको पहुँच सुनिश्चित गर्न तथा जल स्रोतको प्रभावकारी व्यवस्थापनमा नागरिकलाई सचेत गराउने उद्देश्यले सो कार्यक्रम भएको हो।

Leave a review

This will close in 0 seconds