प्रसौनी गाउँपालिकाले हैजाको सन्दर्भमा देखायो सतर्कता, लगायो खुला खानामाथि प्रतिबन्ध

साझेदारी दैनिक
268 पाठक संख्या

कलैया : बाराको प्रसौनी गाउँपालिकाले आफ्नो क्षेत्रमा सतर्कता देखाएको छ। वीरगञ्जमा हैजाको संक्रमणको पुष्टि भएपछि वीरगञ्ज महानगरसंग नजिक रहेको यस पालिकाले उच्च सतर्कता अपनाएको हो।

गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवालले आइतबार यस सम्बन्धमा एक सूचना जारी गरेका हुन्। उनले सूचनामा प्रसौनीका नागरिकलाईस्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन आग्रह गरेका हुन्।

हैजाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै गाउँपालिकाले सडक पेटीमा बिक्री हुने चटपटे, पानीपुरी, चाट र माछाजस्ता खाद्य पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्ता खानेकुराबाट हैजा फैलिने सम्भावना उच्च रहेकाले यसरी गाउँपालिकाले प्रतितबन्ध लगाएको हो।

होटेल र रेस्टुरेन्टहरूलाई खाना स्वच्छ र सुरक्षित तरिकाले भण्डारण तथा बिक्री गर्न भनिएको छ। खुला ठाउँमा दिसा–पिसाब गर्न पूर्ण रूपमा निषेध गाउँपालिकाले गरेको हो। सबैलाई शौचालयको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

गाउँपालिकाले बासिन्दाहरूलाई खाना खानुअघि साबुन पानीले हात धुन सुझाव दिएको छ। उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउन भनिएको छ। बासी वा सडेगलेका खानेकुरा नखाने सुझाव समेत भनिएको छ।

स्थानीय स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कतामा रहन र आवश्यक परे तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहन गाउँपालिकाले सूचनामा निर्देशन दिइएको छ। हैजाको सम्भावित प्रकोपबाट जोगिन गाउँपालिकाले सबैलाई सचेत रहन भनिएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अपिल गरेको छ।

Leave a review

This will close in 0 seconds