बारामा विशेष अपरेसन : ठूलो मात्रामा काठसहित एक तस्कर पक्राउ

रञ्जन यादव
479 पाठक संख्या

जीतपुर । बारामा काठ तस्करी नियन्त्रण गर्न बन टोलीले विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा काठ बरामद गर्न सफल भएको छ। सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्।

जिल्लाको मधुबन सब–डिभिजन बन कार्यालय मातहतका सम्पूर्ण पोस्टहरूको संयुक्त एम्बुस टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक गस्ती गर्दै काठ बरामद गरेको हो।

टोलीले बेलुकी ७ बजेदेखि जंगलमा तीन समूहमा विभाजन भई गस्ती गरिरहेको समयमा बिहान करिब २ः४५ बजे तस्करीमा संलग्न समूह नियन्त्रणमा लिएको हो ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाका अनुसार गस्ती टोलीले ५ थान साल जातका काठ (४६.०६ क्युफिट), ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरेको छ। करिब १० जनाको समूहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनीलाई पक्राउ गरिएको र अन्य फरार रहेको कार्यालयले जनाएको छ।

पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको र काठ तस्करीमा संलग्न जोकोहीलाई बन ऐनअनुसार कडाइका साथ कारबाही गरिने डिभिजनल बन अधिकृत झाले चेतावनी दिएका छन्।

Leave a review

This will close in 0 seconds