वीरगञ्ज : टेलिफोन र सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएको आरोप लागेकी टिकटकर किरण साह स्वास्थ्यमा समस्या आएपछि मंगलबार साँझ अस्पतालमा भर्ना भएकी छन् ।
साहलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेर उनलाई पुनः जिल्ला प्रहरी कार्यालय लगिएको थियो। वान्ता र पेट दुख्ने समस्या रहेको साहलाई बुधवार बिहानपुनः अस्पतालमा भर्ना गरिएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।
खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्यानमार्ने धम्की दिएको आरोप साहमाथि रहेको छ। साहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
बाराको कलैया उपमहानगरपालिका – २६ घर भई हाल वीरगञ्ज महानगरपालिका – १३ मुर्लीमा साह बस्दै आएकी छिन्। वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको र त्यसको कारण मन्त्री यादव र मेयर सिंहद्वारा जडान गरिएको बोरिङको पानी जिम्मेवार रहेको भन्दै सामाजिक सञ्जालमा साहले भिडियो बनाएर राखेकी थिइन्। सो भिडियो भाइरल भएको थियो।
घटनापछि पर्सा प्रहरीले शनिवार साहलाई हिरासतमा लिएको थियो। मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
साहविरुद्ध साइबर क्राइम, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाउने आरोपमा आइतबार तीन वटा मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद मङ्गलवार म्याद सकिएपछि थप तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले लिएको छ।

