आन्दोलनको क्रममा केन्द्रिय कारागारबाट फरार कर्तव्यज्यान मुद्दाका कैदी कुर्मी पक्राउ

साझेदारी दैनिक
331 पाठक संख्या

कलैया । जेनजी युवा पुस्ताको आन्दोलनको क्रममा केन्द्रिय कारागारबाट भागेका एक कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर वस्नेतले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा कालिकामाई गाउँपालिका वडा नं.५ सिमरा बस्ने वर्ष ४० को मुक्तिनारायण कुर्मी कैदी ( आईडी नं.३८८८१६८ ) लाई मंगलबार पक्राउ गरेको हो।

आफ्नै श्रीमती वर्ष ३५ की संगिता देवी कुर्मीनलाई घाँटी थिचि कर्तव्य गरी मारेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कुर्मीलाई कैद सजायको आदेश दिइएको हो।

भदौ २४ गते आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौबाट उनी फरार रहेका थिए। यस पश्चात आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको भन्ने सूचना अनुसार निजकै घरबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

उनलाई सम्बन्धित कारागार कार्यालयमा पठाइनेकार्य भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

Leave a review

This will close in 0 seconds