कलैया सिटी जेसिजद्वारा पन्ना देवी विद्यालयमा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
354 पाठक संख्या

कलैया । कलैया सिटी जेसिजको जेसिज सप्ताह–२०२५ अन्तर्गत आज तेस्रो दिन बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित श्री पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक प्रहरी शाखाका प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहले कक्षा ९ र १० का विद्यार्थीहरूलाई लागुऔषधको हानिकारक असर, कानूनी सजाय, सामाजिक परिणाम तथा रोकथामका उपायबारे प्रशिक्षण दिएका थिए।

उनले विद्यार्थीहरूलाई लागुऔषध सेवनको कारण मानसिक, सामाजिक र शैक्षिक जीवनमा आउने नकारात्मक प्रभावबारे सचेत गराउँदै भने, “लागुऔषध क्षणिक रमाइलो हो तर दीर्घकालीन विनाश ल्याउने विष हो, त्यसैले आफू र परिवारको भविष्य सोचेर यस्तो गलत बाटोमा कहिल्यै लाग्नु हुँदैन।” उक्त कार्यक्रममा लागुऔषधको पहिचान, त्यसका स्वास्थ्य तथा मानसिक असर, कानूनी दण्ड, गलत मित्र समूहबाट टाढा रहने उपाय लगायतका विषयमा विस्तृत रूपमा जानकारी प्रदान गरिएको कार्यक्रम संयोजक सन्दीप यादवले जानकारी दिएका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलले विद्यार्थीहरूलाई लागुऔषधजस्ता विकृतिबाट टाढा रहन र सकारात्मक सोचसहित अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले भने, “लागुऔषध केवल एक व्यक्तिको जीवन नष्ट गर्ने समस्या होइन, यो परिवार, समाज र देशको भविष्यमा प्रत्यक्ष असर पार्ने सामाजिक रोग हो। आजको विद्यार्थी नै भोलिको समाजका निर्माता हुन्, त्यसैले विद्यार्थीहरूले समयमै सचेत बन्ने हो भने समाजमा लागुऔषधजस्ता विकृतिहरू स्वतः समाप्त हुनेछन्।”

उनले थपे, “शिक्षा केवल किताबमा सीमित हुनु हुँदैन। विद्यार्थीले असल चरित्र, आत्मअनुशासन र नैतिक जीवन बोध गर्नुपर्छ। यदि हामीले आत्मअनुशासन अपनायौँ भने कुनै पनि गलत प्रलोभनले हाम्रो मार्ग परिवर्तन गर्न सक्दैन।” मण्डलले अभिभावक र शिक्षकहरूलाई पनि विद्यार्थीहरूको व्यवहार र संगतमा निरन्तर निगरानी राख्न सुझाव दिए। “हामीले बालबालिकालाई मोबाइल र इन्टरनेटको प्रयोगमा नियन्त्रण गर्न, असल मित्रता प्रोत्साहन गर्न र नियमित संवाद कायम राख्नुपर्छ। परिवारको साथ र माया नै लागुऔषधबाट जोगिने पहिलो ढाल हो।” मण्डलले भने

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार गिरि, कलैया सिटी जेसिज-२०२५ का कोषाध्यक्ष आदिल अन्सारी, भर्चुअल नेटवर्क प्रा.लि. कलैया शाखाका प्रबन्धक राजेश पण्डित, सामाजिक अभियन्ता सागर पटेल, पत्रकार रमेश ठाकुर, प्रहरी रवि कुमार सहनी, जेसिजका सदस्यहरू र करिब ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कलैया सिटी जेसिजका महासचिव श्याम केशरीले गरेका थिए।

जेसिज सप्ताह अन्तर्गत बुधबार चौथो दिन बुधबार ( भोलि ) ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिने कलैया सिटी जेसिजले जनाएको छ।

Leave a review

This will close in 0 seconds