कलैया । सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा उत्कृष्ट युनिट ट्रफी प्राप्त गरेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले ट्रफीसहित सदरमुकाम कलैयामा भव्य बाजागाजासहित नगर परिक्रमा गरेको छ । कलैया बेश क्याम्प बालमन्दिरबाट सुरु भएको र्याली कलैया भरत चोक हुँदै पुनः गणमै पुगेर सम्पन्न भएको थियो ।
र्यालीलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले आफू गणमा आउँदा स्पोर्ट्स हप्तामा गोल्ड मेडल जितेर बाहिनीमै उत्सव मनाएको स्मरण गरे । देशभरका ४४ गणमध्ये प्रथम स्थान हासिल गर्न आफूले एक्लै केही नगरेको स्पष्ट पार्दै नम्बर १२ गण तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरीको मेहनत, इमानदारी र टिमवर्कका कारण बारा गण उत्कृष्ट युनिट बन्न सफल भएको उनले बताए । हेडक्वाटरको नीतिनिर्देशनलाई आधार बनाएर प्रतिस्पर्धा गर्दा आज यो उपलब्धि हासिल भएको उनले भने । साथै उनले चुनौतीलाई चिर्दै इमानदारीका साथ कार्य गर्न सम्पूर्ण प्रहरीलाई आग्रह गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा नम्बर १२ गण बाराका गणपति एवम् एसपी केसी उत्कृष्ट युनिट ट्रफीसहित पुरस्कृत भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले उनलाई उत्कृष्ट युनिट ट्रफी प्रदान गरेका थिए ।
बारा गणको कमाण्ड सम्हालेपछि सीमा सुरक्षामा देखिएका चुनौती, अवैध कारोबार, तस्करी तथा विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेकाले उनको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
एक वर्षे कार्यकालभित्र प्रदर्शन गरेको कार्यक्षमता, नेतृत्वदक्षता र नतिजामूलक कामका आधारमा देशभरका ४४ गणमध्ये बारा गणले पहिलो स्थान हासिल गर्न सफल भएको हो । कमाण्ड सम्हालेसँगै एसपी केसीले भौतिक पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिँदै स्थानीय तहसँग प्रभावकारी समन्वय कायम गरेका छन् । यस क्रममा आन्तरिक कार्यालय परिसरभित्र नमुनायोग्य मेस, ब्यारेकलगायत संरचनाको निर्माण तथा व्यवस्थापन सुधार गरिँदा कार्यालयको वातावरण, सौन्दर्य र कार्यक्षमता थप व्यवस्थित र आकर्षक बनेको देखिएको छ ।


