जीतपुर । बारास्थित डिभिजन वन कार्यालयले जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खननप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले दुवै स्थानीय तहलाई औपचारिक पत्राचार गर्दै वातावरणीय परीक्षण प्रतिवेदन विना भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननप्रति असन्तुष्टि व्यक्त गरेको हो।
वन कार्यालयका अनुसार पछिल्लो समय प्राप्त गुनासोका आधारमा चुरे तथा वन क्षेत्र आसपास अनियन्त्रित उत्खनन भइरहेको देखिएको छ। यसले वातावरणीय सन्तुलनमा असर पार्न सक्ने भन्दै आवश्यक प्रक्रिया पूरा नगरी कुनै पनि उत्खनन कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ।
कार्यालयले वातावरणीय अध्ययन (आईई र ईआइए ) नगरी सञ्चालन गरिएका कामहरू गैरकानुनी हुने उल्लेख गर्दै त्यस्ता गतिविधि तुरुन्त नियन्त्रण गर्न स्थानीय तहलाई सचेत गराएको छ। स्वीकृत वातावरणीय प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न पाइने कानुनी प्रावधान रहेको पनि जनाइएको छ।
‘ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७’ अनुसार वन तथा चुरे क्षेत्रबाट अनियन्त्रित रूपमा स्रोत उत्खनन गर्न रोक लगाइएको छ। विशेष अवस्थामा पनि सम्बन्धित निकायबाट स्वीकृति लिएर मात्र काम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ।
वन कार्यालयले राष्ट्रिय वन क्षेत्रभित्रका यस्ता योजनाको वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने अधिकार मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयसँग रहेको स्पष्ट पारेको छ। त्यसैले स्थानीय तहहरूले आवश्यक अध्ययन पूरा गरी मन्त्रालयबाट स्वीकृति लिनुपर्ने दायित्व रहेको बताइएको छ।
डिभिजन वन अधिकृत सुजीत कुमार झाले हस्ताक्षर गरेको पत्रमा मापदण्ड विपरीत काम भए कडा कारबाही हुन सक्ने चेतावनी दिइएको छ। साथै, वातावरण निरीक्षकमार्फत जुनसुकै बेला अनुगमन हुन सक्ने भन्दै समन्वयमा काम गर्न आग्रह गरिएको छ।

