रौतहटमा नवविवाहित महिलाको शङ्कास्पद मृत्यु: दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप

Subash Kumar Mishra
101 पाठक संख्या

रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ। बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, निशा आफ्नै सुत्ने कोठाको बाँसको कोरो (बामी) मा साडीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमोद खड्काको नेतृत्वमा खटिएको विशेष टोलीले घटनास्थल पुगेर कानुनी मुचुल्का उठाएको थियो।

यसैबीच, मृतकका माइती पक्षले भने निशाले आत्महत्या नगरेको दाबी गर्दै दाइजोका लागि उनको हत्या गरिएको गम्भीर आरोप लगाएका छन्।

मृतकका पिता, ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरिएको आरोप लगाएका छन्। उनले ज्वाइँ निरज साह सोनार र उनका परिवारका सदस्यले घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याएको दाबी गरेका छन्। घटनापछि मृतकका श्रीमान घर छाडेर फरार रहेको पनि आरोप छ।

मृतकका पिता साहका अनुसार गत फागुन महिनामा छोरीको विवाह भएको थियो। विवाह भएदेखिनै ससुराली पक्षबाट थप दाइजोको रूपमा एसी,(एयर कन्डिसनर) लगायतका सामग्री माग गर्दै छोरीलाई मानसिक यातना दिनुका साथै कुटपिट समेत गर्दै आएको बताएका छन्।

घटनापछि स्थानीयवासी तथा मृतकका आफन्तले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन्। उनले हाल कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै सबै पक्षबाट प्रमाण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds