शारदा पोखरेल,
बारा–पर्सा औधोगिक करिडोरमा सिजि एग्रो प्रालिले अतिक्रमण गरेर भोगचलन गरेको सार्वजनिक बाटो र कुलोको जग्गा खाली गर्न आलटाल गरेको छ । करिडोरको नितनपुर चोकको पश्चिमतर्फ चौधरी समुहद्धारा सञ्चालित सिजि एग्रो प्रा.लिले भोगचलन गरेको बाटो र कुलोको जग्गा खाली गर्न आलटाल गरेपछि स्थानियहरु उद्योगको विरुद्धमा उत्रिएका छन् ।
साविक रामपुर टोकनी गाविस वडा नं २ को कित्ता नं १८ को ९ कठ्ठा र कित्ता नं ६४ को कुलोको ६ कठ्ठा जग्गाको अधिकाशं भूभाग चौधरी समुहद्धारा सञ्चालित उद्योगले वषौदेखि पर्खाल लगाएर भोगचलन गरेको छ । नक्सामा ४० फिटको बाटो उल्लेख भएपनि १२ देखि २० फिटसम्म जग्गा उद्योगभित्र रहेको छ भने कुलो पुरै मासिएको स्थानियहरुले बताएका छन् ।
हाल सो बाटो ढलानका लागि जीतपुर सिमरा उपमहानगरले २० लाख बजेट विनियोजन गरेपछि स्थानियहरुले सार्वजनिक जग्गा खाली गर्न उद्योगलाई दवाव दिएका छन् । तर उद्योग प्रशासनले भने अटेर गर्दै आएको छ ।
जीतपुर सिमरा वडा नं १० मा २०५८ सालदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानिय रामबाबु साहले सो क्षेत्रमा बाटो र कुलो पहिलेदेखि नै भएको तर पछि उद्योगले कुलो मासेर पर्खाल लगाएको बताउछन्् । ‘यो बाटोमा बहालवाला वडाध्यक्षको भूमिका शंकास्पद देखिएको छ उहाँले मुखको धेरै जग्गा अतिक्रमण गर्ने सिजि कम्पनिलाई पत्र काट्नु भएको छैन् तर पुच्छरमा परेको त्रिवेणी टेक्सटाईल उद्योगलाई मात्रै सार्वजनिक जग्गा खाली गर्न चिठी काट्नु भएको छ’ स्थानिय साहले भने ‘वडाध्यक्षले दोहोरो बार्गेनिङको भूमिका देखाएर वडाको बजेटलाई व्यापारीकरण गर्नुभएको छ’
सार्वजनिक जग्गा खाली गर्न अटेरी गरेको सिजि उद्योगले वडाध्यक्षलाई प्रभावमा पार्न चलचल्तीमा कायम रहेको बाटो नै ढलानका गर्न उद्योगको तर्फबाट १५ लाख आर्थिक सहयोग समेत गरेको छ ।
४० फिटको बाटोमा बनेका संरचना नहटाउने र हाल कायम रहेको १६ फिटलाई नै मानेर बाटो ढलान गर्न उद्योगले सो आर्थिक सहयोग गरेको स्थानिय साहको भनाई छ । करिव ३ सय मिटरको सो बाटोमा ३ वटा उद्योग मात्रै पर्दछ ।
‘सिजी एग्रोको बाटो ढलान भएर हामी वडाबासीलाई के फाईदा हुन्छ, उपमहानगरले छुटएको २० लाखमा बाटो ढलान गर्न वडाध्यक्षले आफ्नो मान्छे राखेर उपभोक्ता समिति गठन गर्नुभएको छ भने बोनसमा उहाँलाई उद्योगले १५ लाख दिएको छ’ स्थानिय साहले भने ‘वडाले कुनै नाप नक्सा नगरीकन हचुवाको भरमा चलनचल्तीमा रहेको १६ फिटको बाटोलाई जबरर्जस्ती ढलान गर्न खोजेको छ हामीले यस्मा विरोध जनाएका छौ’
उद्योगको बलमिच्चाई, सार्वजनिक जग्गा खाली गर्न आलटाल, उपमहानगरमा स्थानियको उजुरी
सिजि कम्पनीले बाटो र कुलोको सार्वजनिक जग्गा खाली गर्न आलटाल गरेपछि स्थानियहरुले उपमहानगरमा उजुरी दिएका छन् । सो उजुरीमा बाटो ढलानको क्रममा बहालवाला वडाध्यक्ष संजय पटेलले मिलेमतोमा गुपचुप ढंगले फरक वडाका मानिसहरुलाई राखेर उपभोक्ता समिति गठन गरेको,नितनपुर चोकदेखि पश्चिमतर्फ सिजि एग्रो प्रा.लि.सम्म जाने बाटोको उत्तर छेउमा १२ फिटदेखि २० फिटसम्म रहेको सार्वजनिक कुलो मिची पर्खाल निमार्ण गरेकोले बाटो ढलान वा विस्तार गर्दा मिचेको कुलो खाली गरेर मात्रै बाटो ढलान कार्य हुन दिने र सो नभएमा बाटो ढलान कार्य रोक्का राख्ने निर्णयमा गरेको उल्लेख छ । स्थानियहरुको उजुरीपछि उपमहानगरले हाल सो बाटो ढलानको काम रोकेको छ ।
बैशाख २६ गते उपमहानगरले उद्योगलाई पत्र पठाएर बाटो र कुलोको सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा के कसो हो जवाफ माग गरेको थियो । उपमहानगरको पत्रमा उद्योगले साविक रामपुर टोकनीको कित्ता नं १८ को उत्तर तर्फ सिजि एग्रो प्रोडक्टस प्रा.लि. को जग्गा नरहेको तथा यस उद्योगले कुनै किसिमको नयाँ पर्खाल तथा संरचना निमार्ण नगरेको जवाफ दिएको छ ।
‘त्यहाँ कहाँ कुलो थियो सो सम्वन्धमा यस प्रतिष्ठानलाई कुनै जानकारी नभएको व्यहोरा अवगत् गराउदछौ’उद्योगका महाप्रवन्धक भागवतलाल झा ले उपमहानगर भूमि व्यवस्थापन शाखालाई पठाएको पत्रमा उल्लेख छ ।
फिल्डबुकमा प्रष्ट्रसँग उल्लेख भएको कित्ता नं १८ र ६४ को कुलो र बाटोको जग्गा खाली गर्न बहालवाला वडाध्यक्ष संजयप्रसाद पटेलले चासो नदेखाएको स्थानियहरुको भनाई छ ।
बाटो र कुलोको करिव ३ सय मिटर क्षेत्रमा हनुमान मेटल्स प्रा.लि.,सि.जि आयल एण्ड डेरिभेटिम्स प्रा.लि., सिजि एग्रो प्रोडक्टस प्रा.लि र त्रिवेणी टेक्सटाईल प्रा.लि रहेका छन् । तर वडाध्यक्ष पटेलले सि.जि.प्रा.लि लाई छोडेर जेठ २ गते त्रिवेणी टेक्सटाईल प्र.लिलाई मात्रै अतिक्रमण जग्गा खाली गर्न पत्र काटेका छन् ।
‘त्रिभुवन राजपथको पश्चिमपट्टी कुलो (पैनी) रहेको खोला उकासको सार्वजनिक जग्गा मिचेर उद्योग स्थापना गरेर बस्नु भएकोमा वर्षातको महिनामा पानी निकास हुन नपाई समस्या उत्पन्न हुने भएकोले अतिक्रमण कुलो निकासको जग्गा आजको मितिले १५ दिनभित्र खाली गर्नका लागि जानकारी गराईन्छ’ वडाध्यक्ष पटेलले हनुमान मेटल्सलाई काटेको पत्रमा उल्लेख ।
बाटो र कुलोको सार्वजनिक जग्गा कब्जा गर्ने उद्योगलाई छोडेर अन्य उद्योगलाई पत्र काट्नुले वडाध्यक्षको उद्योगसँग मिलेमतो रहेको स्थानियहरुको भनाई छ । तर बहालवाला वडाध्यक्ष पटेलले भने सि.जि एग्रो प्रा.लिलाई मौखिक रुपमा जानकारी गराएको दावी गरेका छन् । ‘सि.जि कम्पनिलाई सार्वजनिक जग्गा खाली गर्न मैले मौखिक रुपमा जानकारी गराएको छु’ वडाध्यक्ष पटेलले भने ।
वडाको कार्यशैलि प्रति उपमहानगरको ध्यानाकर्षण
वडाले चलनचल्तीमा रहेको बाटोलाई नै कायम राखेर ढलान गर्न लागेपछि उपमहानगरले बैशाख २४ गते वडा कार्यालयलाई आवश्यक कागजपत्र पेश गर्न पत्र निर्देशन दिएको थियो ।
उपभोक्ता समिति गठनको सक्कल माईन्युट, उपभोक्ता समिति गठनको लागि ७ दिन अगाडीको सार्वजनिक सूचनाको प्रतिलिपि र उपभोक्ता समिति गठन हुदाँको आम भेलाको फोटोहरु समेत पेश गर्न निर्देशनमा उल्लेख छ ।
‘यस कार्यालयमा परेको उजुरीको सक्कल प्रतिबाट व्योहोरा अवगत गर्नुभई आवश्यक कारवाहीको लागि उजुरीकर्ता समेतलाई संलग्न गराई सो कार्यका सम्वन्धमा समन्वय र सहकार्यमा र्फत सामुहिक बैठकको निर्णयसहित योजना कार्यन्वयन अगाडी बढाउने/नबढाउने सम्वन्धमा जानकारी गराई आवश्यक कारवाही गर्नु गराउनु हुन अनुरोध छ’ उपमहानगरले वडालाई पठाएको पत्रमा उल्लेख छ ।
उद्योगसँगको मिलेमतोमा चलनचल्तीमा कायम रहेको बाटो सडक ढलान गर्दा २० औ वर्षदेखि व्यापार,व्यवसाय गरेर बसेका स्थानियहरुको पुर्जा भएको नम्बरी जग्गा बाटोमा पर्ने र सार्वजनिक जग्गा उद्योगभित्र पर्ने देखिन्छ ।
कम्पनिले वडा र उपमहानगरलाई मिलाएको छ: निर्वतमान वडाध्यक्ष राउत
जीतपुर सिमरा वडा नं १० का निर्वतमान वडाध्यक्ष सरोज कुमार राउतले सिजि एग्रो प्रा्रलि.ले उपमहानगर र वडा कार्यालाई मिलाएर सार्वजनिक कुलो कम्पनिले मिचेर राखेको बताएका छन् ।
‘कम्पनिले उपमहानगर र वडा कार्यालयलाई मिलाएर चलनचल्तीमा रहेको १६ फिट बाटोलाई ढलान गर्न खोजिरहेको छ तर हाम्रो भनाई ४० फिटको बाटो, २० फिटको कुलो नक्सामा छ सोही बमाजिम ढलान हुनुपर्यो भन्ने हो’ निर्वतमान वडाध्यक्ष राउतले भने ‘वडाबासी सबैको भनाई हो कुलो सहित उद्योगले कब्जा गरेको सबै सार्वजनिक जग्गा खाली गरेर मात्रै बाटो ढलान गनुपर्छ’
उद्योगले आफुले कब्जा गरेको जग्गा खाली नगर्नका वडालाई १५ लाख आर्थिक सहयोग गरेको राउतको भनाई छ । ‘वडा कार्यालयले कुलो र बाटोको जग्गा मिच्ने उद्योगलाई अहिलेसम्म पत्र काटेको छैन् तर जुन कम्पनिले मिचेको छैन् त्यसलाई उहाँले पत्र काट्नु भएको छ’ राउतले भने ।
यता सि.जि एग्रो प्रा.लिको प्रशासकिय प्रमुख बताउने बिजयमल्ल ठाकुरले भने जग्गा नापजाँच नभएसम्म उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरे÷नगरेको विषयमा भन्न नमिल्ने बताउछन् ।
‘अमिन आएर नापजाँच गरेपछि मात्रै थाहा हुन्छ के भएको हो भनेर’ ठाकुरले भने । स्थानियहरुको आग्रहको उद्योगले कब्जा गरेको सार्वजनिक जग्गाको समाचार संकलन गर्न पुगेको सञ्चारकर्मीहरुलाई देखेर उद्योग प्रशासनका कर्मचारी आक्रोशित समेत भएका थिए ।
सार्वजनिक कुलो र बाटोको जग्गा फिर्ता ल्याएर संरक्षण गर्छौ : नगरप्रमुख
उपमहानगरका नगरप्रमुख राजन पौडेलले उद्योगले अतिक्रमण गरेको बाटो र कुलोको जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने बताएका छन् । ‘उद्योगले सार्वजनिक कुलो मिचेको रहेछ भने त्यसलाई अमिन खटाएर नापेर त्यस्ता खालका सार्वजनिक जग्गाहरु उपमहानगर मातहतमा ल्याएर संरक्षण गर्छौ’ नगरप्रमुख पौडेलले भने । उद्योगलाई मात्रै फाईदा पुग्नेगरी उपमहानगरले लगानी गरेको भन्ने स्थानियहरुको गुनासोमा नगर प्रमुख पौडेलले बाटोघाटो निमार्णको सन्दर्भमा सबैलाई उपयोग हुने हिसाबले बाटो निमार्ण गनुपर्ने नगरपालिकाको उत्तरदायित्व भएको बताएका छन् ।
‘यदि उद्योगभित्र सार्वजनिक जग्गा पर्दछ भने त्यसलाई अतिक्रमण गर्ने छुट नगरपालिकाले दिन सक्दैन्, यो कुरा उठिसकेपछि हामी त्यसलाई छानविन गर्दछौ र त्यहाँ कुलो रहेछ भने निकाल्छौ’ पौडेलले भने ।


