बारामा हुलाक सेवाको पहिलो परीक्षण सफल, एकै दिन २६ जनाले घरदैलोमै पाए राहदानी

संदिप प्रसाद यादव
99 पाठक संख्या

कलैया । बारामा पनि राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने पुरानो झन्झट अब अन्त्यतर्फ उन्मुख भएको छ। बारामा हुलाक सेवामार्फत घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था सुरु भएसँगै सेवाग्राहीले प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्न थालेको हो। सेवाको पहिलो कार्यान्वयनकै दिन शुक्रबार जिल्लाका विभिन्न पालिकामा २६ जनाले आफ्नै घरदैलोमै राहदानी प्राप्त गरेका छन्।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच गत वैशाख २५ गते राहदानी घरमै पुर्‍याउने सम्बन्धमा सम्झौता भएको थियो। सोही सम्झौताको कार्यान्वयनस्वरूप बिहीबार जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा २८ वटा राहदानी जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गरेको थियो।

जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार प्राप्त राहदानीमध्ये शुक्रबार नै २६ वटा सम्बन्धित सेवाग्राहीको घरदैलोमा पुगेर वितरण गरिएको हो। बाँकी दुई वटा राहदानी वितरणको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए।

हुलाक कार्यालयको तथ्यांकअनुसार जिल्ला हुलाक कार्यालय बारामा प्राप्त दुई राहदानीमध्ये एउटा वितरण गरिएको छ भने अर्को वितरण हुन बाँकी छ। हुलाक कार्यालय जीतपुरसिमरा उपमहानगरपालिकामा प्राप्त १० मध्ये नौ वटा राहदानी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। हुलाक कार्यालय निजगढले प्राप्त आठवटै राहदानी एकै दिनमा वितरण गर्न सफल भएको छ।

त्यसैगरी देवताल गाउँपालिकामा प्राप्त एक, बारागढी गाउँपालिकामा प्राप्त एक, कोल्हवी नगरपालिकामा प्राप्त दुई, महागढीमाई नगरपालिकामा प्राप्त तीन तथा सुवर्ण गाउँपालिकामा प्राप्त एक राहदानी समेत सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

यसअघि राहदानी तयार भएपछि सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालय पुगेर बुझ्नुपर्ने व्यवस्था थियो। विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी बनाउने नागरिकले राहदानी लिनकै लागि फेरि सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था रहँदै आएको थियो। नयाँ व्यवस्थाले भने त्यस्तो झन्झट कम गर्ने विश्वास गरिएको छ।

हुलाक सेवामार्फत राहदानी वितरणको व्यवस्थाले प्रशासनिक सेवा नागरिकको घरदैलोमै पु¥याउने सरकारी अभियानलाई थप बल पुर्‍याएको सरोकारवालाहरूको भनाइ छ। यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कार्यालयमा हुने भीडसमेत घट्ने अपेक्षा गरिएको छ।

जिल्ला हुलाक कार्यालय बाराले आगामी दिनमा राहदानी वितरणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ। पहिलो चरणको वितरण उत्साहजनक देखिएकाले सेवाप्रति नागरिकको विश्वास समेत बढ्दै गएको कार्यालयको दाबी छ।

Leave a review

This will close in 0 seconds