वरिष्ठ सइ सागर राणा बाराकाे बेस्ट पुलिस अफ दि ईयर घोषित

संदिप प्रसाद यादव
2.5k पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी बेस्ट पुलिस अफ दि ईयर घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले राणालाई वर्षकाे उत्कृष्ट प्रहरी घाेषित गरेकाे हाे।

आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले निर्वाह गर्नुका साथै कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई पूर्ण अनुशासनका साथ पालना गरेकाले राणालाई शुक्रबार उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगेटीले जनाएका छन् ।

सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पन्न गरी दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले वरिष्ठ सई राणाको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव परी कार्य दक्षतामा अझ बढी प्रभावकारीता आउने विश्वास लिइएको प्रहरी उपरीक्षक बोगेटीले बताए ।

एक वर्षको अवधिमा वरिष्ठ सई राणाले २०७९ भदौ १२ मा बाराको करैयामाई गाउपालिका बस्ने अपहरणमा परेकी १० वर्षीय सुरतिया पासवानलाई भारतबाट उद्धार गरी ल्याएका थिए । गत मंसिर १४ मा कोल्हबी नगरपालिका– ११ बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या भएको थियो । वरिष्ठ सई राणाले चौधरीलाई कर्तव्य गरी मारेका प्रतिवादीलाई पक्राउ गरेका थिए ।

गत असोज २१ मा बाराको सिम्रौनगढ स्थित सडकखण्डमा भारत विहारको मोतीहारी बस्ने रोहिचन मुखिया र सितामढीका जुमराती मियांलाई ९ लाख नेपाली नक्कली नोट सहित पक्राउ गरेका थिए । यसैगरि गत पुस ८ मा बारागढी नगरपालिका– २ स्थित भारतीय नागरिक शिवपुजन यादवलाई गोली प्रहार गरी हत्या गर्ने भारतीय नागरिक प्रमोद रामलाई वरिष्ठ सई राणाले पक्राउ गरेका थिए ।

फागुन २० मा कलौया उपमहानगरपालिका– २५ सिसहनीय निवासी असफाक अख्तर अन्सारीकी छोरी अपहरणमा परेकी थिइन् । वरिष्ठ सई सागर राणाले भारतको दिल्लीबाट अन्सारीकी छोरीलाई अपहरणमुक्त पारेका थिए । अपहरण गर्ने रोमियोलाई पक्राउ समेत गरेका थिए ।

मंसिर २७ मा बाराको विश्रामपुर गाउपालिका– ५ इटियाही टोलमा रहेको दरबार कोलनी क्षेत्रमा सुरज भन्ने महेश साहको हत्या भएको थियो । साहको हत्या गरेका रामु भन्ने कैलाश महतो र रोशनी भन्ने हिरा देवी समेतलाई पक्राउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वरिष्ठ सई राणाले यसको अलावा विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई समेत पक्राउ गरेका छन् । यसको साथै भन्सार चोरी निकासी पैठारी गरी ल्याएका करोडौं मूल्य बराबरका अवैध लत्ता कपडा लगायतका अन्य सामग्री बरामद गरि दाखिला गरेका छन् । वरिष्ठ सई सागर राणाले आफूलाई दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले २०७९ सालको उत्कृष्ट प्रहरी घोषित गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् ।

Leave a review

This will close in 0 seconds