बारा प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले स्रोत नखुलेको रकम सहित पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने असर्फि राउत कुर्मीको छोरा ३४ वर्षीय हरिकिशोर प्रसाद पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने राजिन्द्र महतो कोईरीको छोरा ४२ वर्षीय रमेश प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले मंगलवार कलैयामा पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न दरको नेपाली रू.१३ लाख ५० हजार रुपैयाँ बरामद गरेको प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले पत्रकार सम्मेलनमा जानकारी गराएका छन । उनीहरुको साथबाट ४ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा पक्राउ परेका पटेलले चलाएको प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा अवैध रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त रकमसहित पटेललाई पक्राउ गरेको प्रहरी उपरिक्षक काफ्लेले जनाए।
प्रहरीका अनुसार पक्राउ परेका मोटरसाईकल चालक पटेलले दिएको बयानका आधारमा हुण्डी कारोबारमा संलग्न अर्का कुशवाहालाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्लाको बरियारपुर स्थित संचालित आर.के मनि चेन्जरमा २ दिनमा ८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बैंक तथा वित्तिय सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ४ दिन म्याद थप गरी थप अनुसनधान भईरहेको प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन ।

