बाराको सिमरास्थित सेज खेल मैदानमा सञ्चालित प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा मकवानपुर विजयी भएको छ ।
यहाँ भएको मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले जनकपुर पीस फाउण्डेसनलाई स्तव्ध पारेको हो । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई उसले ३१ रनले पराजित गरेको हो ।
मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकारले ब्याटिङतर्फ शानदार सतक प्रहार गरे । यसपछि उनले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट प्रदर्शनले प्रतियोगितामा मकवानपुरले बिजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट क्षतिमा १८१ रन बनाएको थियो । कंसकारले ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गर्दै १११ रन बनाएका थिए । कप्तान सुमन सुनारले अविजित २४ रन बनाए । गौरव खड्का र आस्तिक दाहालले समान १८ रनको योगदान मकवानपुरको लागि योगदान गरे ।
जनकपुरका बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए । मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेको थियो ।
जनकपुरका ओपनर अलि अकबर अंसारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । मकवानपुरका अशिम श्रेष्ठले ओपनर अंसारीको विकेट लिए ।
अंसारीपछि क्रिजमा आएका बिशाल सुस्लिङ समेत उस्तै लयमा देखिदा जनकपुरको जीतको सम्भावना देखिएको थियो । खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए । १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शून्यमै आउट गरेका हुन् ।
कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको सकस बढदै गयो । १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो । चन्दन यादवले १३ रन बनाए ।
मकवानपुरका कंसकारले तीन ओभरमा सात रन खर्चिएर पाँच विकेट लिए । पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए । कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बुधवार जनकपुर र खुकुरी क्रिकेट क्लब भैरहवाबीच खेल हुनेछ । यो समूहको विजेताले लागि पर्सा क्रिकेट संघसंग चैत्र १० गते उपाधिका लागि खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

