जीतपुरसिमरालाई मोतियाबिन्दु रोग मुक्त पालिका बनाउँने अभियान,निशुल्क आँखा जाँच देखि शल्यक्रिया सम्म

रञ्जन यादव
302 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगरलाई मोतियाबिन्दु रोग मुक्त पालिका बनाउँने अभियानमा लागिपरेको छ ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले “जीतपुरसिमरा उपमहानगरपालिकाको अभियान,मोतियाबिन्दु भएकालाई दृष्टिदान ˮ भन्ने मूल नारासहित कार्यक्रमको आयोजना गरिरहेको छ । पालिकाले आँखालाई पहिलो प्रथामिकतामा राखि शिवीर संञ्चालन गरेको छ ।

मानिसको पहिलो र महत्वपूर्ण अंगको रुपमा रहेको आँखा स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण उपचार रहेको भन्दै आँखा शल्यक्रिया सहितको शिवीर संञ्चालन गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकाको आठ वडामा आयोजना गरिएको शिवीरमा एक हजार एक सय ५२ वटा मानिसहरुले जाँच गराएका छन् । जसमा दुई सय छ जनामा मोतियाबिन्दु देखापरेको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

पहिलो चरणमा २३ जना वडा नं.२० मा मोतियाबिन्दु रोग देखा परेको बिरामीको आँखाको शल्यक्रिया गरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

वार्ड नं.१ मा आयोजना गरिएको शिवीरमा जाँच गराएका ८२ जनामध्ये १६ जनामा मोतियाबिन्दु,वडा नं.२ मा आयोजना गरिएको शिबिरमा १०१ जनामा १२ जनामा मोतियाबिन्दु,वडा नं.३ मा १०५ जनामा २६ जनामा मोतिया बिन्दु,वडा नं.८ मा १४५ जनामा २५ जनामा मोतियाबिन्दु,वडा नं.१६ मा १ सय ३२ जनामा २० जनामा मोतिया बिन्दु र वडा नं.२० मा आयोजना गरिएको शिबिरमा ३५० जना मध्ये ७० जनामा मोतिया बिन्दु रोग देखापरेको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले साझेदारी दैनिकलाई जानकारी दिए ।

किरण आँखा अस्पताल वीरगंज र नेपाल आँखा अस्पताल औराहाको साझेदारीमा गरिएको आँखा शिवीरमा उपमहानगरपालिकाको आर्थिक अवस्था कमजोर धेरै ब्यक्तिहरु लाभान्वित भएका छन् ।

पालिकाले आँखालाई पहिलो प्रथामिकतामा राखि शिवीर संञ्चालन गरेको छ । शल्यक्रिया सहितको आँखा शिवीर वडामै हुने भएपछि पालिकाको धेरै जेष्ठ नागरिकहरुले शिवीरमा सेवा लिएका छन् ।

शिवीरमा अपाङग,बालबालिका,जेष्ठ नागरिकहरुलाई बिषेश निगरानी राखी सहजताका साथ सेवा दिएको छ । शिवीरमा आँखा जाँच गराउँदा मोतिया बिन्दु देखा परेमा किरण आँखा अस्पताल वीरगंज र नेपाल आँखा अस्पतालमा औराहामा अस्पतालकै गाडिमा लगेर उपचार गर्ने ब्यवस्था मिलाईएको जनस्वास्थ्य प्रबर्दन शाखा प्रमुख भाष्करले जनाए ।

उनले आर्थिक बर्ष २०८१।०८२ मा जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सबै मोतियाबिन्दुका रोगीहरुको निशुल्क शल्यक्रिया गरी मोतियाबिन्दु मुक्त पालिका बनाउँने लक्ष्य उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाको रहेको बताए ।

उपमहानगरपालिकाको वडा नं.२१ अमलेखगंज स्वास्थ्य चौँकीमा असार १३ गते र वडा नं.७ जीतपुरको प्राथमिक स्वास्थ्य चौँकीमा असार १५ गते निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिवीर राखिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds