बारामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

साझेदारी डेलि
126 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रास्थित आर्मी ब्यारेक अगाडि पिकअप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

सोमबार बिहान पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर डिभाइडर पार गर्दै सडकको दाहिनेतर्फ पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका–३० प्रोसतीपुर बस्ने वकिल मियाँ अन्सारीका २२ वर्षीय छोरा तथा पिकअप चालक जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर लगिएकोमा बिहान ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

यस्तै, पर्साको विश्रामपुर गाउँपालिका–९ बस्ने सुभान अन्सारीका २० वर्षीय छोरा तथा सहचालक स्वयंभुला अन्सारी घाइते भएका छन्। उनको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रवक्ता घलेले जानकारी दिए ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश निरौलाको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।

प्रवक्ता घलेका अनुसार दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको र दुर्घटनामा परेको पिकअप इलाका प्रहरी कार्यालय जीतपुरको नियन्त्रणमा रहेको छ ।

Leave a review