जीतपुरसिमराले दुर्घटनामा ज्यान गुमाएका कर्णप्रती श्रद्धाञ्जली ब्यक्त

रञ्जन यादव
291 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले मोटरसाईकलको ठक्करले मृत्यु भएका स्वास्थ्यकर्मी प्रबिण कर्णप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख राजन पौडेल र उप प्रमुख भोला अधिकारी लगायत कर्मचारीहरुले स्वास्थ्यकर्मी कर्णको फोटोमा माला अर्पण गरी आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा अन्तर्गत वडा नं.४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र,औराहाको प्रमुखको रुपमा सिनियर अहेब अधिकृत कर्ण कार्यरत थिए ।कर्णको निधनबाट उपमहानगरपालिकालाई ठूलो क्षति पुगेको भन्दै श्रद्धाञ्जली सभामा दुःख व्यक्त गरिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ घर भएका ४२ वर्षीय कर्ण दशैं विदाको समयमा सर्लाही गएका बेला असोज २५ गते राती मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा मृत्यु भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उनको पत्नीसहित एक छोरा र एक छोरी रहेका छन् । उनकी पत्नी सिमा कर्ण पनि स्वास्थ्यकर्मी हुन् । सिमा सखुवाघाटमा कार्यरत छिन् ।

सिमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको जिल्ला कार्यसमिति सदस्य हुन् भने उनका पति कर्ण महासंघको सदस्य थिए ।

श्रद्धान्जली सभामा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,उपप्रमुख भोलाप्रसाद अधिकारी,जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रवि भाष्कर,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाराका अध्यक्ष जितन ठाकुर,जीतपुरसिमरा नगर अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा. प्रकाश साहसहित नगर क्षेत्र भित्रको २५ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र उपमहानगरका कर्मचारीको उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds