कलैया : जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी इकाई टोलीबाट १० जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा दाखेल गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।
प्रहरी कारवाहीको सिलसिलामा उनीहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट गंगापुर चोरी मुद्दामा एक महिना कैद र पाँच हजार जरिवाना सजाय पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १८ वस्ने लालबाबुमहतो धानुकलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय छतवाले चोरी मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना सजाय पाएका फेटा गाउँपालिका बतरा निवासी मुकेश मुखियालाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय निजगढले चोरी मुद्दामा दुई महिना कैद र दुई हजार पाँचसय रुपैयाँ जरिवाना सजाय पाएका अमृत लामालाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढले चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका सिम्रौनगढ वडा नम्बर ११ निवासी सन्तोष साह तेलीलाई पक्राउ गरेको हो।
यस्तै चेक अनादर मुद्दामा एक हजार वाँच सय रुपैयाँ जरिवाना सजाय पाएका सिम्रौनगढ १० निवासी वकिल प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी गञ्जभवानीपुरले चेक अनादर मुद्दामा एक हजार पाँच सय रुपैयाँ दण्ड जरिवाना पाएका करैयामाई गाउँपालिका वडा नम्बर ८ का नागेन्द्र पण्डितलाई पक्राउ गरेको हो।
प्रहरी चौकी बरियारपुरले चेक अनादर मुद्दामा दुई हजार रुपैयाँ दण्ड जरिवाना सजाय पाएका महागढीमाई नगरपालिका वडा नम्बर ८ का शोषनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय निजगढले वन मुद्दामा १२ हजार पाँच सय ७१ रुपैयाँ ४३ पैसा दण्ड जरिवाना सजाय पाएका रामायण चौधरीलाई पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोष्ट रतनपुरले हातहतियार खरखजाना मुद्दामा दुई महिना कैद र २५ हजार रुपैयाँ सजाय पाएका जनक बहादुर स्याङतानलाई पक्राउ गरेको हो।
हातहतियार खरखजाना मुद्दामा दुई महिना कैद र २५ हजार रुपैयाँ दण्ड जरिवाना सजाय पाएका निजगढ १ निवासी प्रेम बहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो।


