सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

साझेदारी दैनिक
590 पाठक संख्या
माेरङकाे सुन्दरहरैँचा नगरपालिका-८ स्थित वडा कार्यालय नजिक किसानले लगाएको मकैखेती । तस्बिर : मणिराम दाहाल / रासस

इनरूवा (सुनसरी): गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ ।

सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज,भोक्राहा,बराहक्षेत्र,हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।

जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्‍याएको उहाँले जानकारी दिनुभयो ।

मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको,मकैमा लागेको फूल झरेको,फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसैगरी आँपमा समेत क्षति भएको उहाँले जानकारी दिनुभयो ।

आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उहाँले बताउनुभयो । त्यसैगरी,लौका,काँक्रा,करेला,परवल,बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।

गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख सिंहले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds