रौतहट : करण कुमार मिश्र/ निर्धारित समय भन्दा करिब चार महिना ढिलो गरी रौतहटको फतुवा विजयपुर नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ ।
सरकारको नियम अनुसार प्रत्येक स्थानीय तहले असाढ मसान्त भित्रमा नगर सभा गरी अगामी आर्थिक वर्षको बजेट ,निति तथा कार्यक्रम ल्याई सक्नुपर्ने प्रवधान छ ।
तर जनप्रतिनिधि बीचको आन्तरिक द्वन्द र भागबन्डाको कारण असाढ़मा हुनु पर्ने नगर सभा चार महिना ढिलो गरी शनिबार सम्पन्न भएको हो ।
मधेस प्रदेश सरकारको अर्थमन्त्री सुनिल कुमार यादवको प्रमुख आतिथ्यता” जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवको बिशिस्ट आतिथ्यता तथा कार्यवाहक नगर प्रमुख अम्ब्या खातुनको अध्यक्षतामा नगरपालिका कार्यालय परिसरमा फतुवा विजयपुरको आठौं नगर सभा अधिवेशन भव्य सहभागिता बिच सम्पन्न भएको हो ।
नगरपालिकाले आठौं नगर सभाद्वारा यस चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ६० करोड ७७ लाख सात सय अन्ठानब्बे रूपैया बजेट सर्वजनिक गरेको छ ।
यस चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले जानकारी दिए ।
यस वर्ष शिक्षा,स्वास्थ्य,खेलकुद,कृषि,यातायात,खानेपानी तथा सरसफाइ,विधुत,भौतिक पुर्वाधार निर्माणकार्य,पर्यटन तथा संस्कृतिलगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको छ ।
रौतहटमा रहेको १८ वटा स्थानीय तह मध्ये अहिले सम्म १७ वटा पालिकाले नीति , कार्यक्रम तथा बजेट ल्याई सकेको अवस्थामा जनप्रतिनिधि वीच कुरा न मिल्दा फतुवा विजयपुर नगरपालिकाको नगर सभामा ढिलाई हुदै आएको थियो ।
तर लामो समयको प्रयास पछि जनप्रतिनिधि वीच कुरा मिले पछि फतुवा विजयपुरको आठौं नगर सभा बहुमतले पारित भएको हो ।
सो कार्यक्रममा लेखा प्रमुख कामेश्वर सहनी लगायत पालिकाका सम्पुर्ण कर्मचारी तथा राजनीतिककर्मी,भद्रभलादमी,सबै वडाका वडाध्यक्ष सहित कार्यपालिका सदस्य तथा सञ्चारकर्मीसमेतको उपस्तिति रहेको थियो ।

