कलैया बजारका तरकारी ब्यवसायीको आन्दोलन एक हप्ताका लागि स्थगित

राजेश कुशवाहा
378 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाले बहाल विटौरी कर वृद्धि गरेको बिरोधमा कलैया बजारका तरकारी ब्यवसायीहरुले गरेको अन्दोलन एक हप्ताका लागि स्थगित गरेका छन्।

बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप साहले तरकारी ब्यवसायीहरुको माग एक हप्ता भित्र सम्बोधन गराउने आश्वासन दिएपछि कलैया बजारमा तरकारी ब्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन्।

उपमहानगरपालिकाले बृद्धी गरेको बहाल विटौरी कर फिर्ता लिनुपर्ने माग गर्दै तरकारी तथा फलफूल खुद्रा ब्यवसायी संघ कलैयाका अध्यक्ष आलम हुसेनको अगुवाईमा कलैया बजारका तरकारी ब्यवसायीहरु शुक्रबार देखि अनिश्चित कालिन आन्दोलनमा उत्रिएका थिए।

तरकारी ब्यवसायीहरुको माग सम्बोधन गराउन उद्योग बाणिज्य संघले पहल गर्ने आश्वासन पछि शनिबार दुई बजे देखि तरकारी ब्यवसायीहरुले बन्द रहेको तरकारी पसल खोलेका हुन्।

उपमहानगरपालिकाले रु ३० रुपैयाँ बहाल विटौरी कर लाग्ने ठाउँमा थप रु २० रुपैयाँ बढाएको छ। ४० रुपैया लाग्ने ठाँउमा थप रु ४० रुपैयाँ बढाए पछि तरकारी ब्यवसायी आन्दोलित भएका थिए ।

पहिला ३० रुपैया बहाल विटौरी कर दिदै आएकोमा तरकारी ब्यवसायीलाई अहिले रु ५० रुपैयाँ दिनुपर्ने र ४० रुपैया लाग्ने ठाँउमा रु ८० रुपैयाँ दिनुपर्ने भएकाले आर्थिक भार थपिएकाले आन्दोलनमा उत्रिएको अध्यक्ष आलमले बताए।

एक हप्ता भित्र माग पुरा नभए कडा आन्दोलन गर्ने अध्यक्ष आलमले जानकारी दिए। कलैया बजारमा दुई सयको संख्यामा खुद्रा तरकारी ब्यवसायीहरु रहेका छन ।

Leave a review