रौतहट । रौतहटमा पछिल्लो समय भारतीय बजारबाट हुने तस्करीको घटना दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। सस्तो मूल्य, खुला सिमा र प्रशासनिक कमजोरीका कारण सीमा क्षेत्रमा तस्करी गतिविधि व्यापक रूपमा फस्टाउँदै गएको छ।
नेपाल–भारत सीमालाई खुला सिमाको रूपमा चिनिन्छ, जसका कारण दुवैतर्फका नागरिकहरू बिना रोकटोक आवतजावत गर्ने गर्छन्।रौतहटको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ, जहाँको बजारहरूमा सामान सस्तोमा पाइने हुँदा तस्करीको आकर्षण झनै बढेको हो।
स्थानीय स्रोतका अनुसार, सर्लाही, पर्सा र रौतहटका विभिन्न नाकाहरु भएर दिनहु निर्वाध रूपमा तस्करी हुने गरेको छ । गौर, बौधीमाई, माधवनारायण, राजपुर र इशनाथ नगरपालिका क्षेत्रका विभिन्न नाका भएर दैनिकरूपमा ठूलो मात्रामा खाद्यान्न, कपडा, मोबाइल, सिगरेट, मदिरा, औषधि, प्लास्टिकका सामग्री तथा विद्युतीय सामानहरूको तस्करी भइरहेका छन्।
तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयले बेलाबेला अपरेशन गर्ने गरे पनि स्थायी रूपमा रोक लगाउन सकिरहेका छैनन्। प्रशासनका अनुसार सीमावर्ती क्षेत्रमा मानव संसाधनको अभाव, राजनीतिक दबाब, तथा प्रविधिको कमीका कारण तस्करी नियन्त्रणमा चुनौती छ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, “हामीले तस्करहरूलाई नियन्त्रणमा लिन प्रयास गर्दै आएका छौं। तर उनीहरू नयाँ तरिका अपनाइरहेका छन्, जस्तै साइकल, मोटरसाइकल वा गोप्य बाटाहरू प्रयोग गरेर सामान ओसारपसार गर्ने गरेका छन् । सीमावर्ती गाउँका धेरै स्थानीयहरू तस्करीमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नरहेका छन्।
उनीहरूका लागि यो आम्दानीको सजिलो स्रोत बनेको छ। “यहाँ रोजगारीको अभाव छ, सीमाबाट सामान ल्याएर बेच्दा दिनको ५००–१००० रुपैयाँ कमाइ हुन्छ,” एक स्थानीय युवकले नाम नखुलाउने शर्तमा बताए। तर, यो प्रवृत्तिले दीर्घकालमा नेपालको राजस्वमा ह्रास ल्याउने, घरेलु उद्योगहरू संकटमा पार्ने तथा आपराधिक गतिविधिहरू बढाउने खतरा रहेको सुरक्षा विश्लेषकहरू बताउँछन्।
भारतसँग सीमा जोडिएको रौतहट जिल्लामा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ। रौतहट सिमा नाकामा तस्करी नियन्त्रणका लागि कडाइ, निगरानीमा वृद्धि गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण, रौतहटले सिमा क्षेत्रमा चेकजाँच कडा पार्नुका साथै विशेष निगरानी प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
रौतहटस्थित ११ नम्बर गणको निमित्त कार्यालय प्रमुख एवम् डिएसपी (डिप्टी सुपरिन्टेन्डेन्ट अफ पुलिस) दीपक थापाले भने, “हामी तस्करी रोक्न सक्दो प्रयास गरिरहेका छौं। भारतसँग जोडिएका सिमाना नाकाहरुमा सुरक्षा कडाइ गरिएको छ, साथै तस्करीका हरेक सम्भावित गतिविधिमाथि कडा निगरानी राखिएको छ।”
डिएसपी थापाका अनुसार रौतहट जिल्लाको खुला सीमाका कारण विभिन्न किसिमका गैरकानुनी क्रियाकलाप हुने सम्भावना बढ्दो छ। यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरीले रणनीतिकरूपमा गस्ती, सूचना संकलन र विशेष अपरेशन समेत सञ्चालन गर्दै आएको छ।
“हामीले स्थानीय समुदायसँग समन्वय गर्दै सिमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाएका छौं। स्थानीयको सहयोगबिना सीमा सुरक्षामा सफलता पाउन कठिन हुन्छ,” डिएसपी थापाले बताए।
यस क्षेत्रबाट दैनिक रुपमा हुने सवारी साधन, मानिस तथा मालसामानको ओहोरदोहोरलाई ध्यानमा राखी सशस्त्र प्रहरीले स्थायी तथा अस्थायी चेकपोस्टहरू पनि विस्तार गरेको छ।
स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँगको समन्वयमा भइरहेको यी गतिविधिबाट अवैध सामग्रीको ओसारपसारमा केही हदसम्म रोक लागेको पनि प्रहरीले दाबी गरेको छ।
सशस्त्र प्रहरीले यस अभियानलाई अझ प्रभावकारी बनाउन थप जनशक्ति, स्रोत साधन र प्रविधिको मागसमेत सरकारसमक्ष राखेको छ। रौतहटमा भारतीय बजारबाट भइरहेको तस्करी केवल आर्थिक विषय मात्र नभएर सामाजिक र सुरक्षासम्बन्धी मुद्दा पनि बनेको छ।
यस समस्याको समाधानका लागि प्रशासनिक इच्छाशक्ति, सीमा सुरक्षा बलको समन्वय, र स्थानीयको सक्रिय सहभागिता अनिवार्य देखिन्छ।

