कलैया । सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानहरूबाट करिब चार लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिबाट नायब उपरीक्षक राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले आइतवार पचरौता नगरपालिका–२ श्रीनगर वैरिया गाउँ नजिकै सीमाबाट मोटरसाइकलसहित २ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको चिनी र सरफ बरामद गरेको हो।
त्यस्तै इलाकामा खटिएको बीओपी गोलागन्जका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले सिम्रौनगढ नगरपालिका–६ अमरपुर सीमाबाट कुर्ता, गम्छा र साडी अन्दाजी ७४ हजार ३ सय रुपैयाँ बराबरको बरामद गरी बिओपीमा राखेको जनाएको छ।
यसैगरी एफओबी छतवाका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश गिरीको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले बिश्रामपुर गाउँपालिका–१ बसत चोकमा मोबाइल पार्टसहरू अन्दाजी मुल्य ५१ हजार रुपैयाँ बराबरको बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै कलैया उपमहानगरपालिका–५ दुर्गा स्कुल नजिकैबाट ३५ हजार रुपैयाँ बराबरको चिनी तथा मैदा बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका सामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

