सात दर्जनभन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउँदै,कार्यकर्ता भर्ति गर्न खोज्दै पर्यटनमन्त्री कुशवाहा

साझेदारी दैनिक
565 पाठक संख्या

जनकपुरधाम । मधेश प्रदेशका दश लाख युवालाई रोजगार दिन्छु भनेर घोषणापत्रमा लेखेकोे जनमत पार्टीले लक्ष्य विपरित काम गर्न थालेको पाइएको छ। मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहाले पार्टीको घोषणापत्र विपरित काम गर्न लागेका हुन्।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनु केही दिनअघि मन्त्री कुशवाहाले एक लाख रोजगारी सिर्जना हुनेगरी मधेश प्रदेश सरकारले नीति बनाउन लागेको दावी गरेका थिए।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १४ वटा कार्यालयहरूमा कम्प्युटर अपरेट, सहायक कम्प्युटर अपरेटर, हलुका सवारी चालक र कार्यालय सहयोगी गरी ८० जना भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। तीन वर्षभन्दा बढी समयदेखि मन्त्रालय तथा मातहतका कार्यालयहरूमा कार्यरत ती सबै कर्मचारीहरूलाई हटाउन मन्त्री कुशवाहाले उर्दी जारी गरेका छन्।

सबै कार्यालयहरूमा कार्यरत करारका कर्मचारीलाई हटाउन निर्देशन दिएको तर, के कारणले हटाउन लागिएको बारे जानकारी नभएको मन्त्रालयका सविच जय कुमार घिमिरे बताउँछन्। मन्त्रीस्तरीय निर्णय गरेरै सबै कर्मचारीहरूलाई हटाउन मन्त्रीको आदेश आएको तथा करारका कर्मचारीहरूको म्याद नथप्न मन्त्री कुशवाहाको आदेश रहेको छ। ती कर्मचारीहरूलाई हटाइसकेपछि मन्त्रालय र मातहतको कार्यालय सञ्चालन गर्न वाधा अवरोध हुने उनको भनाइ छ ।

यता नेपाल निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलले विधि प्रक्रिया पूरा गरेर वर्षौदेखि काम गरिरहेका कर्मचारीलाई मन्त्रीले हटाउन नपाउने बताएका छन्। कार्यकर्ता भर्ती केन्द्र बनाउन ती कर्मचारीलाई हटायो भने कर्मचारीहरू आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्। मन्त्री कुशवाहाले आफ्नो आसेपासेलाई नियुक्ति गर्न पुराना कर्मचारीहरूलाई हटाउन लागेको उनको आरोप छ।

यस विषयमा मन्त्री कुशवाहासंग सँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।

Leave a review

This will close in 0 seconds