कलैया : सीमा जबसम्म सुरक्षित हुन सक्दैन तबसम्म देश भित्रको आन्तरिक सुरक्षाको कल्पना पनि गर्न नसकिने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिनमस्ता बाहिनीका बाहिनिपति एवंम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले बताएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टरको आयोजनामा मंगलवार भएको ‘सीमावासीसंग सशस्त्र प्रहरी’ अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
छोटी भन्सार नहुनु जनताको लागि मात्र होइन, सशस्त्र प्रहरीका लागि पनि साह्रै दुख भएको उनले बताए। सशस्त्र प्रहरीले छोटी भन्सार सञ्चालन गर्न पटक–पटक ताकेता गरेको उनले जनाए। बारामा एउटा मुख्य भन्सार नै चाहिन्छ डिआईजी ढकालले भने। सशस्त्र प्रहरी बल भनेको जनताका लागि रहेको र जनता भनेको सशस्त्र प्रहरीका लागि रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले बताए।
सीमा नाकामा विरामी बोकेको एम्बुलेन्सलाई राम्रोसंग जाँच गरि पठाउन समेत उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए। कसैले एम्बुलेन्स किन पठाऔं,सोध्यो भने त्यसको जिम्मेवारी म लिन्छु र कारवाही पनि म खान तयार रहेको छु उनले भने।
यसैगरी सीमा क्षेत्रमा विवाहवारी सम्बन्धी जन्तिलाई काउन्टर पार्टसंग समन्वय तथा सहकार्य गरी पठाउन समेत उनले निर्देशन दिए। मधेस प्रदेशमै लागू औषध बिकराल रुपमा रहेकोले त्यसलाई नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रम गर्न उनले आग्रह गरे। लागू औषध कारोबार गर्ने भनेको मान्छे मार्नु भन्दा ठूलो अपराध रहेको डिआइजी ढकालले भने।
अन्तरक्रिया कार्यक्रममा सीमाना सुरक्षा, चोरी तस्करी नियन्त्रण, अपराध रोकथाम, जनचेतना अभिवृद्धि तथा नेपाल भारत सीमामा देखिएका चुनौतीबारे विस्तृत प्रस्तुति तथा छलफल भएको थियो। १२ नं. गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले स्वागत एवं प्रस्तुतिकरण गर्दै १९ वटा युनिटमार्फत करिब ६० प्रतिशत जनशक्ति ६० किलोमिटर लम्बाइको सिमानामा तैनाथ गरिएको जानकारी दिए। सीमा क्षेत्रका ९० स्थानमा रहेका साना ठूला नाकाहरूबाट विभिन्न गतिविधि हुने भएकाले नियमित अनुगमन गर्दै आएको उनले बताए।
एसपी केसीका अनुसार सीमावासीसँग सुमधुर सम्बन्ध बनाउँदै अपराध नियन्त्रण, अवैध आयात निर्यात रोकथाम र चोरी तस्करी नियन्त्रणमा नागरिकको सहकार्य महत्वपूर्ण रहने भएकाले यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ। बाराको सीमावर्ती क्षेत्रमा अझै ६ स्थानमा बीओपी स्थापना गर्ने प्रक्रियामा रहेको जानकारी उनले दिए।
अन्तरक्रियामा सहभागी स्थानीय जनप्रतिनिधिहरुले गुलरिया नाका मार्फत सवारी आवागमन पुनः सुचारु गर्न, किसानले सीमाबाट ल्याउने मल तथा खाद्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न, भारतीय एसएसबीले लगातार गाड्दै आएका सीमास्तम्भका कारण भएको भूमि अतिक्रमण फिर्ता गराउन, बन्द गरिएको छोटी भन्सार पुनः सञ्चालन गर्न तथा पटक–पटक उठाइएका मागमा सुनुवाइ नभएको गुनासो सुनाए।
उक्त अन्तरक्रिया कार्यक्रममा बारा जिल्लामा पर्ने नेपाल भारत सीमा क्षेत्रसँग जोडिएका वडाहरूमा गठन भएका सीमा सहजीकरण समितिहरूले अझ बढी सक्रियताका साथ कार्य सम्पादन गर्ने, साथै दशगजा क्षेत्रमा स्थानीयवासीवाट हुने अतिक्रमणलाई हटाउने तथा भविष्यमा यस्ता अतिक्रमण हुन नदिन स्थानीय सर्वसाधारणलाई निरन्तर सूचित गर्ने,कलैया उपमहानगरपालिका १० मटिअर्वा स्थित छोटी भन्सार कार्यालय अगाडी निर्माण सम्पन्न गरिएको पक्की व्यारियरसहितको चेकपोष्टको नमूनाका आधारमा पचरौता नगरपालिका ४ गुलरिया, ईनर्वा र पिपरपाती, सुवर्ण गाउँपालिका ३ सन्तगंज तथा सिम्रौनगढ नगरपालिका ९ झरोखर नाकाहरूमा चेकपोष्ट निर्माण कार्य तत्काल प्रारम्भ गर्ने,चेकपोष्ट निर्माणका लागि आवश्यक सहयोग सम्बन्धित स्थानीय तहहरूले गर्ने,सीमा नाकाहरुबाट हुने चोरी तस्करी नियन्त्रण गर्न बारा जिल्लामा बिगतमा स्थापना भई विविध कारणले हाल वन्द अवस्थामा रहेको छोटी भन्सार कार्यालयहरुको पुनःस्थापनाको लागि आवश्यक पहल गर्ने,सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा.ले बारा जिल्लाका विभिन्न पालिकाहरूमा चालु आर्थिक वर्षभित्र विपद् उद्धार स्वयंसेवक तालिम सञ्चालनको लागि कार्ययोजना तयार गर्ने ,तालिम सञ्चालनका लागि सम्बन्धित स्थानीय तहहरूले आवश्यक सहयोग प्रदान गर्ने,नेपाल भारत सीमा क्षेत्रभित्र हुने अवैध तथा आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल र सम्बन्धित पालिकाका वडा अध्यक्षहरू बीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने,यस मार्फत यस्ता गतिविधिहरूलाई न्यूनिकरण गरिने, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत निकट भविष्यमा सञ्चालन गरिने,स्वास्थ्य शिवीर, दशगजा क्षेत्रको सामूहिक सरसफाइ, सीमा स्तम्भको मर्मतसम्भार/रङरोगन, जनचेतनामूलक कार्यक्रम तथा विपद् उद्धार सम्बन्धी विभिन्न एकल तथा सामूहिक अभ्यासहरूमा सम्वन्धित स्थानीय तहहरूले आवश्यक सहयोग गर्ने सम्बन्धि ६ वटा महत्वपूर्ण निर्णय भएको एसपी केसीले साझेदारी दैनिकलाई जानकारी दिए।
सो अन्तरक्रिया कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साह,पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवार,सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अली भुट्टो,देवताल गाउँपालिकाका अध्यक्ष उदय यादव, सीमासँग जोडिएका विभिन्न वडाका वडाध्यक्ष,गुल्मपती,बिओपी इन्चार्ज, एफओबि इन्चार्जसहित संचारकर्मीहरूको सहभागिता रहेको थियो।

