बाराका एसपी सन्तोष तामाङको एक महिना,साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद

साझेदारी दैनिक
641 पाठक संख्या

बारा – जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका युनिटहरूले एक महिनाको अवधिमा साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि माघ १८ यता फागुन २० गतेसम्म विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको ३ करोड ५८ लाख ४० हजार ६ सय ५९ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

यही अवधिमा प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले ३ सय २० किलो ३०९ ग्राम गाँजा,२९ किलो ४ सय ५१ ग्राम अफिम,१७० ग्राम ४ मिलिग्राम ब्राउन सुगर ओसार-पसारमा संलग्न नेपाली पुरूष २२ र भारतीय पुरूष ४, नेपाली महिला २ जना गरी २६ जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।

सोही अवधिमा ९ बिघा १ कट्ठा ५ धुर खेतमा लगाइएको १ लाख ८१ हजार बोट गाँजा खेती नष्ट गरिएको छ।

त्यस्तै डेढ कठा जग्गामा लगाइएको २० हजार बोट अफिम खेती नष्ट गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिएका छन्।

त्यसैगरी स्रोत नखुलेको ३ लाख २५२६ रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय कारोबारी पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ।

कर्तव्य ज्यान मुद्दा १,सवारी ज्यान मुद्दा ७,लागुऔषध मुद्दा १७, साइबर अपराध मुद्दा १,अभद्र व्यवहार मुद्दा १७ गरी ४३ जनामाथि मुद्दा दायर गरी कारबाही गरिएको पण्डितले बताए।

यो अवधिमा विभिन्न मुद्दामा दण्ड सजाय तोकिएर फरार भएका ८४ जना पक्राउ गरिएको छ। पक्राउ प्रतिवादीबाट  १३ लाख ८६ हजार ८०० रुपैयाँ जरिवाना र १२ वर्ष,७ महिना,१४ दिन कैद भुक्तानी भएको पण्डितले बताए।

जिल्ला प्रहरी कार्यालय बारामा परेका १४० उजुरी उजुरीमध्ये ८६ फर्छ्यौट, ५४ उजुरी प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिक सेवा केन्द्र अन्तर्गत सेवा प्रवाहतर्फ १३ वटा महिला हराएको उजुरीमध्ये ४ महिला फेला परेका छन्। १८ वटा बालबालिका हराएको उजुरीमध्ये ७ जना बालबालिका फेला परेका छन्। ८३ वटा महिला हिंसा सम्बन्धी परेको उजुरी परेको तथ्यांकमा उल्लेख गरिएको छ।

महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक सेवा केन्द्रतर्फ ७७ वटा घरेलु हिंसा सम्बन्धी परेका उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएका छन्।

समुदायिक कार्यक्रम अन्तर्गत साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम ५ वटा,सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १४ वटा, महिला हिंसा न्यूनीकरण सम्बन्धी ७ वटा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा १४ वटा विद्यालयमा जनचेतना,अनुशिक्षण कार्यक्रमबाट १२१० जना लाभान्भित भएका छन्। त्यस्तै,२ वटा नागरिक सुनुवाइ र १ वटा अल्प संख्यकसंग प्रहरी कार्यक्रम सम्पन्न भएको उल्लेख गरिएको छ।

अनुचित लेनदेन कारबाहीतर्फ उजुरी ३ वटा परेकोमा २ वटा फर्छ्यौट भएका छन्। यसमा पीडितको माग दाबी १४ लाख भए पनि ३ लाख ५६ हजारमा मिलापत्र भएको थियो। १३ थान हराएको मोवाइल फेला पारी मोबाइल धनीलाई बुझाइएको छ।

माघ र फागुन महिनामा गरिएको ३९ सय २८ सवारी कारवाहीबाट कुल ३० लाख ४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरीले मदिरा बनाउने भट्टी १२ वटामा छापामारी ३ हजार २५५ लिटर  तयारी मदिरा र ८ हजार ३०० लिटर कच्चा मदिरा नष्ट भएको छ।

ब्रोइलर कुखुरा १२१५ किलो बरामद गरिएको छ। १ लाख ५० हजार बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ।

९० हजार मूल्य बराबरको अबैध सालको काठ बरामद गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकमा उल्लेख गरिएको छ। न्युजकारखाना

Leave a review