बारा : महिलाहरुको लागि क्षमता विकास सम्बन्धी पाँच दिने जनचेतनामूलक कार्यक्रम बाराको देवताल गाउँपालिकामा शनिबार सम्पन्न भएको छ। देवताल गाउँपालिकाको सहयोग र जयगढीमाई तालिम तथा परामर्श केन्द्र प्रालि बाराको सहकार्यमा पाँच दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
महिलाहरुको क्षमता विकास गराउने उद्देश्यले स्थानीय तहस्तरमै मंसिर १६ गते देखि २० गतेसम्म ६ चरणमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जयगढीमाई तालिम तथा परामर्श केन्द्र प्रालि बाराका कार्यकारी निर्देशक कुमारप्रसाद साहले साझेदारी दैनिकलाई बताए ।
उक्त अभिमुखीकरण कार्यक्रममा तीन सय भन्दा बढी किशोर किशोरी तथा महिलाहरु सहभागि भएका थिए। देवताल गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष मनरुदिनमिया ठकुराईको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो।
स्थानीय महिलामा नेतृत्व, सामाजिक चेतना तथा आत्मविश्वास अभिवृद्धिमा तालिमले महत्वपूर्ण प्रभाव पारेको वडा अध्यक्ष ठकुराईले बताए। कार्यक्रम संरचनागत रूपमा ६ चरणमा विभाजित गरेर सहभागीहरूलाई क्रमबद्ध सिकाइ प्रक्रियामा जोडेको उनको कथन थियो। स्थानीय समुदायमा यस्ता कार्यक्रमप्रतिको माग उच्च रहेको उनले जानकारी दिए।
कार्यक्रमका प्रशिक्षकहरूले लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा न्यूनीकरण, सामाजिक उत्तरदायित्व, नेतृत्व सीप, आत्मनिर्भरता तथा निर्णय क्षमता लगायतका विषयमा प्रशिक्षण दिएका थिए। स्थानीय तहमा निरन्तर सीपमूलक कार्यक्रमको आवश्यकता, महिला समूहहरूलाई सशक्त बनाउन योजनाबद्ध तालिमको माग तथा सामाजिक मुद्दाहरूमा महिलाको अग्रणी भूमिका देखिएको सहभागिहरुले बताएका छन्।
कार्यक्रममा देवताल गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख ललन पटेल, नेपाल प्रहरीका लालजीप्रसाद यादव, सशस्त्र प्रहरीका सविन खडका वडा सचिव पुरुषोत्तम चौरसिया, वडासदस्य जैबुन खातुन, लगायत बुद्धिजिवि, समाजसेवी, स्थानीयहरुको उपस्थिति रहेको संस्थाका अध्यक्ष साहले बताए।

