बारामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु

साझेदारी डेलि
107 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बुधबार बिहान आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रूखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक लडेका थिए।

रूखबाट लडेर घाइते भएका थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेको प्रवक्ता घलेले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी औराहाबाट प्रहरी हवल्दार निरञ्जन प्रसाद कुर्मीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा सोकोसहित पाँच जनाको टोली खटिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको प्रवक्ता घलेले जानकारी दिएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a review