बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

साझेदारी डेलि
121 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हेटौंडा–पथलैया सडकखण्डमा बिहीबार वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्र.२–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका २१ वर्षीय नन्दकिश्वर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ का २१ वर्षीय निराजन यादवको मृत्यु भएको छ। शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मोटरसाइकल चालक दासको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कमानेका ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।उनका अनुसार घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको टोली खटिएको थियो ।

Leave a review