प्रादेशिक अस्पताल कलैया रेफरल सेन्टर मात्र होइन, राजनीतिक भर्ती केन्द्र पनि बनेको छ : सांसद अरविन्द साह

संदिप प्रसाद यादव
158 पाठक संख्या

बारा । बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैया रेफरल सेन्टर मात्र नभई राजनीतिक भर्ती केन्द्रसमेत बनेको बारा–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले आरोप लगाएका छन् ।

बुधबार आफ्नो सचिवालयको सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै सांसद साहले अस्पतालमा लामो समयदेखि सुधारका लागि समन्वय गरे पनि अपेक्षित प्रगति नभएको बताएका हुन् । उनले अस्पतालको अवस्थाबारे छानबिन गर्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएका छन् ।

सांसद साहले आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राजनीतिकरणबाट मुक्त राख्ने उद्देश्यले काम सुरु गरेको बताए । प्रादेशिक अस्पताल कलैयालाई प्राथमिकतामा राखेर पटक-पटक अस्पतालको भ्रमण गरेको, मेडिकल सुपरिटेन्डेन्टसँग छलफल गरेको तथा कर्मचारीहरूसँग भेटघाट गरी सुधारका लागि पहल गरेको उनले बताए ।

उनका अनुसार अस्पताल सुधारका लागि प्रदेश सरकारका मन्त्री र सचिव तथा संघीय सरकारका मन्त्री र सचिवालयका सदस्यहरूसँग समेत पटक–पटक समन्वय गरिएको थियो । तर, सुधार हुनुको सट्टा अस्पतालको अवस्था झन् बिग्रँदै गएको उनको भनाइ छ ।

सांसद साहले बाराका विभिन्न गाउँबाट उपचारका लागि कलैया अस्पताल आउने बिरामीले समयमै सेवा पाउन नसकेको समस्या औंल्याए । सिम्रौनगढलगायत जिल्लाका टाढाका क्षेत्रबाट अस्पताल पुग्दा दिउँसो १२ देखि १ बजेसम्म ओपीडीको टिकट बन्द भइसक्ने भएकाले अस्पताललाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने आफ्नो मान्यता रहेको उनले बताए ।

अस्पतालमा चिकित्सकको अभाव देखिएपछि प्रदेश सरकारसँग समन्वय गरेर चार चिकित्सकको दरबन्दीसमेत कायम गरिएको उनले जानकारी दिए । तर, उक्त दरबन्दीमा आवश्यकताभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति गरिएको आरोप उनले लगाए ।

सांसद साहका अनुसार अस्पतालमा १०० भन्दा बढी कर्मचारी रहेको भनिए पनि ७० देखि ८० जनाभन्दा बढी कर्मचारी नियमित हाजिर हुने गरेका छैनन् । उनले २०७३ सालदेखि ज्यालादारीमा कर्मचारी राखिएको भन्दै त्यस्ता नियुक्तिको कानुनी आधारबारे प्रश्न उठाएका छन् ।

अस्पतालमा एनेस्थेसियाका चिकित्सक, स्त्रीरोग विशेषज्ञ तथा रेडियोलोजिस्टको अभाव रहेको र विभिन्न उपकरणसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले बताए । अस्पताल प्रशासनले स्रोतसाधनको अभाव र करारमा कर्मचारी राख्ने अधिकार नभएको बताउने गरेको भए पनि ज्यालादारीमा कर्मचारी राख्ने कार्य भने जारी रहेको उनको आरोप छ ।

‘अस्पतालमा उपचारका लागि आउने गरिब तथा विपन्न नागरिकले उचित स्वास्थ्य सेवा पाउनुपर्ने हो । तर, आफ्ना मान्छेलाई जागिर खुवाउने राजनीतिक भर्ती केन्द्र बनाइएको छ,’ सांसद साहले भिडियोमा भनेका छन् ।

उनले अस्पतालमा ज्यालादारीमा राखिएका कर्मचारीको विवरण सार्वजनिक गर्न तथा नियुक्तिको कानुनी आधारबारे छानबिन गर्नुपर्ने माग गरेका छन् । अस्पतालमा राजनीतिक भर्तीका कारण सर्वसाधारणले गुणस्तरीय उपचार पाउन नसकेको भन्दै उनले यस विषयमा जनता पनि सचेत र जागरुक हुनुपर्ने बताएका छन् ।

सांसद साहले अस्पतालको सुधारका लागि जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश सरकारसम्म पत्राचार गरिसकेको जानकारी दिँदै अस्पताल सुधारका लागि जनताको दबाब र खबरदारी आवश्यक रहेको बताए ।

उनले प्रादेशिक अस्पताल कलैयालाई राजनीतिक प्रभावबाट मुक्त गरी सर्वसाधारणले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संस्थाका रूपमा विकास गर्न सबै पक्षलाई एकजुट हुन आग्रह गरेका छन् ।

Leave a review