बारामा ४ लाख ५५ हजार बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

साझेदारी दैनिक
394 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४ लाख ५५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

बारा जिल्लाको विश्रामपुर गाउँपालिका–०१ छतवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी हवल्दार जितेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि तीन जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ७१ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको हो ।

त्यस्तै कलैया उपमहानगरपालिका–१० निलकण्ठवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुदिप अर्यालको कमाण्डमा खटिएको टोलीले भारतबाट मोटरसाइकल प्रयोग गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयर सामान बरामद गरेको छ । उक्त हार्डवेयर सामानको अन्मूदाजी ६० हजार रुपैयाँ र मोटरसाइकलसहित कुल १ लाख ६० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी सुवर्ण गाउँपालिका–३ सन्तगंज सीमा क्षेत्रमा बीओपी कवहीगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्कीको टोलीले भारतबाट एक व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको मोटर पार्ट्स बरामद गरेको छ । सो सामानको अन्दाजी मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ ।

कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण सिलवालको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा तीन जनाले टाउकोमा बोकी ल्याउँदै गरेको ४५ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान तथा कपडा बरामद गरेको जनाएको छ ।

त्यसैगरी विश्रामपुर गाउँपालिका–४ बलिरामपुर सीमा क्षेत्रमा एफओबी बलिरामपुरबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको टोलीले नेपालबाट भारततर्फ साइकल प्रयोग गरी लैजाँदै गरेको २४ हजार रुपैयाँ बराबरको रेडिमेड कपडा, नेपाली जिट सुर्ती तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ हजार रुपैयाँ बराबरको लेडिज कुर्ता–सुरुवाल बरामद गरेको हो ।

बरामद गरिएका सबै सामान आज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds