आफ्नै भवनमा वडा नम्बर १३ को कार्यालय संचालनमा

संदिप प्रसाद यादव
218 पाठक संख्या

जीतपुर : स्थानीय तह स्थापना भएको साढे आठ वर्षपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ ले आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन पाएको छ। बुधबार आयोजित एक समारोहबीच नगरप्रमुख राजन पौडेलले नवनिर्मित भवनको उद्घाटन गर्दै औपचारिक रूपमा सेवा प्रवाह सुरु गराएका हुन्।

स्थापनाकालदेखि नै सामुदायिक भवनको साँघुरो कोठाबाट सेवा सञ्चालन गर्दै आएको वडा नं. १३ अब पाँच कोठे आफ्नै भवनबाट सञ्चालनमा आएको छ। करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास लिइएको छ।

वडाध्यक्ष हेमनारायण चौधरीले लामो प्रतीक्षापछि आफ्नै भवनबाट सेवा दिन पाउनु वडा र वडाबासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। सीमित स्थानका कारण सेवा प्रवाहमा देखिँदै आएका समस्या अब समाधान हुने र कर्मचारीलाई पनि प्रभावकारी रूपमा काम गर्न सहज हुने उनले उल्लेख गरे।

कार्यक्रममा बोल्दै उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत किरतीराज सुवेदीले आफ्नै भवनबाट सेवा सञ्चालन हुनु कार्यसम्पादन मूल्यांकनका दृष्टिले समेत महत्वपूर्ण आधार हुने बताए। उनले साना उपभोक्ता समितिहरूले भुक्तानीका लागि नगरपालिकासम्म धाउनुपर्ने अवस्था अन्त्य गरी वडा कार्यालयबाटै भुक्तानी प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

नगरप्रमुख पौडेलले उपमहानगरका २४ वडामध्ये २२ वटा वडाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै वडा नं. २४ को भवन साइड क्लियरेन्सका कारण उद्घाटन हुन बाँकी रहेको स्पष्ट पारे। उपमहानगरलाई प्रविधिमैत्री र सेवा केन्द्रित बनाउँदै लैजाने नगरप्रमुख पौडेलले प्रतिबद्धता समेत व्यक्त गरे।

उद्घाटन कार्यक्रममा समाजसेवी रुपलाल चौधरीले विकास निर्माणका बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाई वडा नं. १३ लाई नमुना वडा बनाउने गरी योजना सञ्चालन गर्न आग्रह गरे। कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल र वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन वडा सचिव अनिल पासवानले गरेका थिए।

Leave a review