निर्वाचनलाई दृष्टिगत गर्दै बाराका चारवटै क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

संदिप प्रसाद यादव
399 पाठक संख्या

कलैय : आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बाराका चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ति शुरु गरेको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयहरित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ति शुरु भएको हो।

जिल्लाका विभिन्न स्थानमा सुरक्षा निकायहरूको संयुक्त परिचालन गरिएको छ। निर्वाचन क्षेत्रका संवेदनशील एवं अन्य सबै क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती गरिरहेको हो। सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै नेपाली सेना लगायत अन्य सुरक्षाकर्मीहरूले दिन र रात दुवै समयमा संयुक्त पेट्रोलिङ गरिरहेका हुन्।

निर्वाचनको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन यस्तो गरिएको हो। मतदाताहरूलाई ढुक्क भएर सुरक्षित तवरले मतदान गर्ने वातावरण सिर्जना गर्न सुरक्षा टोलीहरू टोल र बस्तीहरूमा पुगिरहेका छन्।

जिल्लाभरका मतदान केन्द्र र मतगणना स्थलहरूको सुरक्षा संवेदनशीलतालाई हेर्दै सुरक्षाकर्मीहरूको परिचालनलाई थप प्रभावकारी बनाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।सुरक्षा संयन्त्रले पूर्ण तयारी अवस्थामा रहेको प्रशासनले जनाएको हो।

Leave a review

This will close in 0 seconds