कलैया । बाराको सदरमुकाम कलैयास्थित मुख्य सडक निर्माण कार्य पुनः अलपत्र परेको छ। मनमत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयाको मुख्य भाग स्तरोन्नति गर्ने जिम्मा पाएको निर्माण कम्पनीले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम सम्पन्न गर्न सकेको छैन।
सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनका आधारमा थपिएको पछिल्लो म्याद समेत २०८२ चैत ४ गते सकिसकेको छ। सप्तकोशी जलाधार/ओम साई एण्ड कम्पनी जे.भी., काठमाडौंले निर्माणको जिम्मा पाएको यस आयोजनाको कुल ठेक्का सम्झौता रकम २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ (भ्याट सहित) रहेको छ।
२०७८ पुस २७ गते सम्झौता भएको यो योजना सुरुमा २०७९ माघ १ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो। तर समयमै काम नहुँदा म्याद थप गरी २०८२ चैत ४ गतेसम्म पुर्याइएको भए पनि हालसम्मको भौतिक प्रगति जम्मा २३ प्रतिशत र वित्तीय प्रगति २१.४७ प्रतिशत मात्र रहेको आधिकारिक तथ्याङ्कले देखाउँछ।
सडक निर्माणको पछिल्लो अवस्था हेर्दा संस्कार एफएमदेखि भरत चोकसम्म नाला निर्माणको काम भए पनि अन्य खण्डमा काम सुस्त छ। सितलपुरमा नालाको काम सकिएको र भरत चोकदेखि दुर्गा माविसम्म आंशिक रूपमा मात्र नाला बनेको छ। सबैभन्दा मुख्य पक्ष मानिने सडक कालोपत्रेको काम भने अहिलेसम्म शून्य देखिएको छ। निर्माणमा भइरहेको यो ढिलासुस्तीले कलैयाको व्यापारिक गतिविधि र जनजीवन नराम्ररी प्रभावित भएको छ।
धुलो, हिलो र अव्यवस्थित सडकका कारण सर्वसाधारण दैनिक आवतजावतमा सास्ती भोग्न बाध्य छन् भने व्यवसायीहरू पनि ग्राहकको आवागमन घट्दा प्रत्यक्ष मारमा परेका छन्। स्थानीयवासीले पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि ठोस पहल नदेखिएको गुनासो गरेका छन्।
यसैबीच, हाल रहेको निर्माण कम्पनीको म्याद पुनः थपिने हो कि भन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। तर यस विषयमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जसँग बुझ्दा कार्यालयले भने अब थप म्याद नदिइने स्पष्ट पारेको छ।


