जीतपुर : मधेस प्रदेशका सांस्कृतिक तथा ऐतिहासिक धरोहरलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको चार दिने तालिम आइतबार सम्पन्न भएको छ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को पहल तथा दिगो पर्यटन परियोजनाको सहकार्यमा नाटा मधेस प्रदेशद्वारा आयोजित उक्त तालिममा होटल तथा पर्यटन क्षेत्रमा सक्रिय ३० जनाको सहभागिता रहेको थियो। सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा बिहीबारदेखि सुरु भएको तालिम आइतबार समापन गरिएको हो।
तालिमको मुख्य उद्देश्य मधेस प्रदेशमा पर्यटक आगमन वृद्धि गर्नुका साथै स्थानीय मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदालाई प्रभावकारी रूपमा बजारसम्म पु¥याउने रहेको आयोजकले जनाएको छ। नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने ले तालिमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
तालिममा डा. पशुपति न्यौपाने, राजेन्द्र दाहाल र यज्ञमुर्ति अचार्यले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसलाई पर्यटनसँग जोड्ने व्यावहारिक उपायबारे जानकारी गराएका थिए।
कार्यक्रममा प्रकाश गिरी, शम्भु खड्की लगायत पर्यटन व्यवसायी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, होटल तथा शैक्षिक संस्थाबाट समेत सहभागिता जनाइएको थियो। कार्यक्रमका क्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिम उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका छन्।

