बारा । उच्च शिक्षाका लागि विदेश जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी (के.आइ.ई.सि) ले सिमरामा आफ्नो १६औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सिमरास्थित वाणिज्य बैंकको भवनमा आयोजित एक विशेष समारोहका बीच शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको हो।
शाखाको उद्घाटन के.आइ.ई.सि. काठमाडौँका मुख्य कार्यालयका कार्यकारी निर्देशक राजेन्द्र रिजाल र सिमरा शाखाकी कार्यकारी निर्देशक सबु कडेँलले संयुक्त रुपमा गरेका थिए ।कार्यक्रममा बोल्दै केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक राजेन्द्र रिजालले जीतपुरसिमरा उपमहानगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि हामी भरपर्दो पुलको रूपमा काम गर्नेछौं। सही सूचना, पारदर्शी प्रक्रिया र व्यक्तिगत परामर्श हाम्रो प्राथमिकता रहनेछ।”उहाँका अनुसार नयाँ शाखामार्फत विद्यार्थीहरूलाई विभिन्न देशका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयबारे जानकारी, उपयुक्त कोर्स छनोट, आवेदन प्रक्रिया, भाषा तयारी भिसा काउन्सिलिङ तथा प्रस्थानपूर्व मार्गनिर्देशनजस्ता सेवाहरू प्रदान गरिनेछ।
कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सिमरामा नै यस्तो सेवा उपलब्ध हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसले राजधानी धाउनुपर्ने बाध्यता कम गर्ने विश्वास व्यक्त गरेका थिए।
कन्सल्टेन्सीका प्रतिनिधिहरूले पछिल्लो समय विदेश अध्ययनप्रति युवाहरूको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै सुरक्षित र व्यवस्थित वैदेशिक शिक्षालाई प्रवद्र्धन गर्न विश्वसनीय परामर्श आवश्यक रहेको बताएका छन्। नयाँ शाखा सञ्चालनसँगै सिमरा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूले अब राजधानी काठमाडौं धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने र आफ्नै क्षेत्रबाटै आवश्यक सम्पूर्ण प्रक्रिया सहज रूपमा पूरा गर्न सक्ने अपेक्षा गरिएको छ।

